२८ आश्विन २०८३, बुधबार

‘काँग्रेस हुँ, तर राजा मनपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-shah1

लक्ष्मी काफ्ले

झापा। वैशाख २२ गतेबाट झापाका विभिन्न स्थान भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार राजगढ पुगे ।

शाह राजगढ पुग्नुभन्दा अगाडि उनको स्वागतमा त्यहाँका बालकदेखि वृद्धसम्म सबै समुहका मान्छे उर्लिएका थिए । पूर्वराजा शाहको स्वागत गर्न सडकमा लाम लागेका उनीहरु घण्टौंदेखि हातमा फूल लिएर बसेका थिए । उनी राजगढ पुग्नु अगावै निजी सचिव फणिराज पाठक र उनका सुरक्षा अधिकारीहरु तैनाथ थिए । शाहले राजगढ स्थित सोमनाथ शिवालय मन्दिरमा लामो समयसम्म पुजा गरेका थिए । पुजा पश्चात उनलाई मञ्चमा राखेर सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।

शाहको स्वागत गर्न घण्टौंसम्म लाइनमा बसेका ६४ वर्षीय स्थानीयबासी चन्द्रबहादुर बस्नेतले भने – ‘म नेपाली कांग्रेसको मान्छे हुँ । तर मलाई राजा राम्रो लाग्छ । राजा आउनु राम्रो हो । उनले भोलिदेखि नै देश सञ्चालन गरे हुन्थ्यो जस्तो लाग्छ तर हाम्रो कुरा कसले सुन्ने ?’ उनले थपे – ‘यहाँ बिजुली छैन, बाटो छैन, हामी अन्धकारमा छौं । राजनीतिक दलबाट हामी वाक्क भइसक्यौं । राजाले बुझिदिए हुन्थ्यो नि ।’

पूर्वराजा शाहको स्वागत गर्न स्थानीय राजवंशी समुदायका महिलाहरु पेटानीमा सजिएर बसेका थिए । शिवालय मन्दिरको दर्शन गरिसकेपछि शाहलाई राजवंशी समुदायको पहिचान झल्कने पुराना सामाग्रीहरुको अवलोकन गराइएको थियो । शाहलाई केही समय मञ्चमा राखी राजवंशी यूवा यूवतीहरुले नृत्यमार्फत मनोरञ्जन समेत गराएका थिए ।

पूर्वरानी कोमल भने स्वास्थ्य स्थितिका कारण राजगढ पुग्न सकिनन् । ०५८ सालको राजपरिवार हत्या काण्डमा छातीमा गोलिको छर्रा लागेको उनको स्वास्थ्य स्थिति यतिबेला झन नाजुक बन्दै गएको बुझिएको छ । सोही कारण ज्ञानेन्द्र एक्लै राजगढ पुगेका थिए । पूर्वरानी कोमल भने उपचारका लागि आज निजी सचिव सागर तिम्सिनासँगै दिल्ली जाने बुझिएको छ ।

शाहको झापा भ्रमणको विषयलाई लिएर देशभर चर्चा भईरहेका बेला राप्रपा नेपाल झापा जिल्ला सभापति रोहित राजवंशीले भने – ‘राजाप्रति सर्वसाधारणको आस्था बढिरहेको छ । महिला सक्रियता पनि बढेको छ । राजनीतिक दलबाट सबै वाक्क भईसके । यतिबेला जनताले राजा चाहेका छन् ।’

हजारौंको संख्यामा उपस्थित सर्वसाधारणको भिडतर्फ देखाउँदै उनले थपे – ‘शाहको स्वागतमा उर्लिएको यो भिडमा राप्रपा नेपाल मात्र छैन । यहाँ राजावादी मात्र छैनन् । पूर्वराजालाई हेर्नकै लागि सर्वसाधारण भेला भएका हुन् ।’

झापा भ्रमणका क्रममा गरामनी, विर्ताबजार, विर्तामोड, अर्जुनधारा लगायतका स्थानमा पुगिसकेका ज्ञानेन्द्र सञ्चारमाध्यमसँग भने बोल्न चाहिरहेका छ्रैनन् । सञ्चारकर्मीसँग किन उनी बोल्दैनन् त ? भन्ने प्रश्नमा नेता राजवंशीले भने – ‘नेता र राजामा यही फरक हुन्छ । नेता मनपरी बोल्दै हिँड्छन् तर राजा त्यसरी बोल्दैनन् । उनी बोल्नासाथ राजनीतिक दल उफ्रिन थाल्छन् ।’ उनले थपे – ‘चुनाव जितेका नेताहरु शहरमुखी भईसके । तर राजा त आफैं जनातामाझ जाँदैछन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

एक साताको भ्रमणका लागि पत्नीसहित आएका शाह अरु एक साता झापा बस्ने बुझिएको छ ।

Gyanendra-shah3

Gyanendra-shah2  Gyanendra-shah