सूर्यचन्द्र बस्नेत
पोखरा । सत्तामा पुगेपछि सरकार र जनताबीचको सम्बन्धलाई टाढा हुन नदिन, स्थानीय निकायको निर्वाचनमा पार्टीलाई तम्तयार गराउन र पार्टी संगठनलाई सुदृढ गराउन नेपाली काँग्रेसले मेची महाकाली जागरण अभियानलाई जारी राखेको छ ।
काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले महाकाली अञ्चलको कञ्चनपुरबाट चैतको दोस्रो साता सुरु गरेको मेची महाकाली जागरण अभियानको पछिल्लो प्रशिक्षक प्रशिक्षण कार्यक्रम बैशाख २३ देखि २५ गतेसम्म कास्कीको पर्यटकीय स्थल लुम्लेमा सकिएको छ । प्रशिक्षणमा धौलागिरि र गण्डकी अञ्चलका १२० नेता कार्यकर्ता सहभागी थिए ।
प्रशिक्षणका कतिपय कार्यक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवाले सहभागिता जनाउनुभयो भने प्रतिष्ठानको प्रमुखसमेत रहनुभएका उपसभापति रामचन्द्र पौडेल सबै कार्यक्रममा सहभागी भएर जनताका सुख दुःखमात्र हैन, आफ्ना कार्यकर्ताले संगठनमा लाग्दा वर्तमानमा भोगेका समस्या र सुझावसमेत सुन्ने गर्नुभएको छ ।
पार्टी सत्तारुढ रहेको वर्तमान राजनीतिक संक्रमणकालीन अवस्थामा मुलुकलाई संविधान दिएर दिगो शान्ति स्थापना गर्ने तथा सरकारबाट आम जनता, स्थानीयस्तरमा कार्यरत कार्यकर्ताले गरेको अपेक्षामात्र नभएर पार्टीलाई अझ बलियो, सशक्त एवम् पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतामाझ लैजान ती प्रशिक्षणका दौरान कार्यकर्ताले नेताहरुसमक्ष आफ्नो भावना राख्ने गरेका छन् । सरकारले गरेका काम, पार्टीभित्र रहेको समस्या र प्रतिस्पर्धी पार्टीहरुसँगको सम्बन्धका बारेमा पनि ती कार्यक्रममा टीकाटिप्पणी हुने गरेको पाइएको छ ।
अञ्चलस्तरीय कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीनजना सकेसम्म स्नातक गरेका, जिल्ला प्रशिक्षण विभागका प्रमुख एक र राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा सहभागी दुईजना सहभागी भएका छन् । चैत १६ गते महाकालीबाट सुरु भएको प्रशिक्षण सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची, कोसी, सगरमाथा, जनकपुर, गण्डकी र धौलागिरिमा सकिएको छ । आगामी जेठ ७ देखि ९ गते नारायणी र जेठ १७ देखि १९ गते वाग्मती अञ्चलमा प्रशिक्षण हुँदैछ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यले यी कार्यक्रममा अहिलेसम्म एक हजार १०० भन्दा बढी काँग्रेसका अगुवा कार्यकर्ताले प्रशिक्षण लिइसकेका छन् । केन्द्रीय नेता, सभासद् एवम् जिल्लाका अगुवा कार्यकर्तासहितका सर्वसाधारण पनि उद्घाटन कार्यक्रममा ठूलो संख्यामा सहभागी भएका छन् ।
संविधानसभा निर्वाचनअघि पनि पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले क्षेत्रगत रुपमा जिल्ला सभापति, महाधिवेशन एवम् महाधिवेशन प्रतिनिधि, पार्टीका क्षेत्रीय सभापति, नगर सभापति एवम् जिल्ला सचिवहरुको राष्ट्रिय भेलासहित निरन्तर विभिन्न चरणमा प्रशिक्षक प्रशिक्षण चलाएर पार्टीको तल्लो तहसम्म प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको थियो ।
देशव्यापी रुपमा भएका ती कार्यक्रमले पार्टीलाई संविधानसभा निर्वाचनमा ठूलो हैसियतमा पुग्न महत्वपूर्ण योगदान पु¥याएको विश्लेषण छ । दोस्रो संविधानसभा निर्वाचनपछि ठूलो दलको हैसियतले काँग्रेस पार्टी सरकारमा पुगेको छ । सरकारमा पुगेपछि पार्टीको प्रतिष्ठान विभागले आफ्ना नेता विपी कोइरालाको शतवार्षिकीको सन्दर्भ पारेर दोस्रो चरणको नेपाली काँग्रेस मेची महाकाली जागरण अभियान अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षण थालेको हो ।
प्रतिष्ठानका प्रमुख एवम् उपसभापति रामचन्द्र पौडेल सत्तामा पुगेपछि सरकार र जनताबीचको दूरीलाई कम गर्दै स्थानीय निकाय निर्वाचनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गरी जनमत तयार गर्दै पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई जनतामाझ लान मेची महाकाली जागरण अभियान सार्थक भएको बताउनुभयो ।
“सिद्धान्त र बोली फेरेर प्रतिस्पर्धी पार्टीले उठाएको मुद्दा र भ्रमलाई चिर्न, काँग्रेसले घोषणापत्रमार्फत उठाएका कार्यक्रम तथा पार्टीको नीति र सिद्धान्तलाई जनतामाझ लैजान तथा मूलतः जनतासँगको काँग्रेसको सातदशक पुरानो सम्बन्धलाई ताजा राख्न प्रशिक्षणले महत्वपूर्ण योगदान पु¥याएको छ”, प्रतिष्ठानका प्रमुख उपसभापति पौडेलको भनाइ छ ।
पार्टी सत्तामा गएपछि दलहरुको सहमतिमा संविधानसभाका समितिहरुको सर्वसम्मत चयनले संविधान निर्माणको आधारशीला तयार भएको तथा यही सरकारले ल्याउने आगामी बजेटले विकासको आधार तयार गर्नेजस्ता कुरालाई जनतामाझ लैजान सकिएको उहाँको बुझाइ छ ।
धौलागिरि गण्डकी अञ्चलस्तरीय प्रशिक्षक प्रशिक्षणमा सहभागी स्याङ्जाका काँग्रेस नेता एवम् सभासद् राजु थापा काँग्रेसको नीति तथा सिद्धान्त विश्वमा उत्कृष्ट रहे पनि यसमा निरन्तर प्रशिक्षणको कमी रहेको बेला यो अभियानले दोस्रो संविधानसभामा पार्टीले पाएको सफलतालाई कायम राख्न शक्ति मिलेको बताउनुहुन्छ । “यो कसैको गुट उपगुट खडा गर्ने स्वार्थसिद्धि र आलोचनाका लागि होइन, पार्टीलाई जीवन्तता दिन र नयाँ रक्तसञ्चार दिन आवश्यक छ”, सभासद् थापाले भन्नुभयो ।
कास्की क्षेत्र नं ४ धम्पुसका युवा नेता विष्णुबहादुर क्षेत्री पनि पार्टी सरकारमा रहँदा सङ्गठनमार्फत जनतामाझ पुग्न प्रशिक्षणले ऊर्जा थपेको बताउनुहुन्छ । “जनताका सुख दुःखमा सहभागी हुन र जनताका समस्यालाई सम्बोधन गर्न, पार्टीका हर तहका नेता कार्यकर्तालाई जागरुक बनाउँदै पार्टीमा नयाँ रक्तसञ्चार गराउन प्रशिक्षण फलदायी भएको छ”, युवा नेता क्षेत्री भन्नुहुन्छ ।
प्रतिष्ठानका सदस्यसमेत रहनुभएका सभासद् सरिता प्रसार्इं गुटगत स्वार्थ र कसैलाई बलियो बनाउन नभई काँग्रेस पार्टीलाई जीवन्त एवम् बलियो बनाउँदै जुनसुकै बेला हुने स्थानीय निकाय निर्वाचनमा पार्टीलाई जिताउन जागरण अभियान जारी रहेको बताउनुहुन्छ ।
नेपाली काँग्रेस लमजुङका सभापति कृष्ण कोइराला, तनहुँका सभापति ध्रुव वाग्ले र म्याग्दीका सभापति रेशम बानियाँले पार्टीमा अनुशासन, एकता र संस्थागत परिपाटीलाई कायम राखेर स्थानीय निकायको चुनावमा देशव्यापी विजयी लहर ल्याउन यस प्रकारका प्रशिक्षणलाई गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
यी कार्यक्रममा नेपाली काँग्रेसको इतिहास र सैद्धान्तिक आधार, सङ्गठन निर्माण एवम् सुदृढीकरण, निर्वाचनसँग सम्बन्धित रणनीति एवम् कार्यकर्ता परिचालन र प्रशिक्षणको सीप, कौशल र दक्षताबारे पार्टी नेता एवम् विज्ञहरुले प्रशिक्षण दिएका छन् ।
सबै कार्यक्रममा सहभागी हुनुभएका प्रतिष्ठानका निर्देशक आचार्यले विपी शतवार्षिकीको अवसरमा प्रतिष्ठानले थालेको अभियानमा प्रशिक्षणका सहभागीहरु ठूलो उत्साह लिएर आफ्नो क्षेत्रमा फर्केको बताउनुभयो ।
“मूलतः प्रशिक्षणमा काँग्रेसमा देखिएको ६०÷४० को कित्तालाई मेटाएर पार्टी सिङ्गो काँग्रेसका रुपमा उभिनुपर्छ, सत्तामा पुगेको बेला आफ्नो प्रजातान्त्रिक समाजवादको मौलिक दर्शनबाट विचलिन हुनुहुन्न भन्ने आम कार्यकर्ताको आकाङ्क्षा मुखरित भएको छ र यस्ता कार्यक्रमलाई निरन्तर चलाउनुपर्छ भन्ने सुझाव छ”, निर्देशक आचार्य भन्नुहुन्छ ।
प्रतिष्ठानका सदस्य जीतप्रकाश आलेले स्थानीय तहसम्म विस्तार हुने प्रशिक्षणको अनुगमनका लागि प्रतिष्ठानले १४ अञ्चलमा केन्द्रीय टोली खटाउने छ भने जिल्लाले स्थानीय तहमा अनुगमन गर्नेछ । रासस














प्रतिक्रिया