लक्ष्मी काफ्ले
विर्तामोड ।कनकाई नदीको सरसफाई गर्दै झापामा शुक्रबारबाट एउटा नौलो अभियानको सुरुवात भएको छ ।
समर्पण नाम दिइएको अभियान २१ जना सभासद्लाई डालोमा ढुंगा बोकाएर सुरु गरियो ।
सहारा नेपालको मुख्य आयोजना तथा झापाका ६३ वटा संघसंस्था आवद्ध रहेको अभियानमा उल्लेख्य रुपमा जनसहभागिता थियो । समर्पण अभियानका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवम् सभासद् कृष्णप्रसाद सिटौलाले डालोमा ढुंगा बोकेर श्रमदान गर्दै उद्घाटन गरेका थिए ।
सानो–सानो रकम र श्रमदानले पनि ठूलो कार्य गर्ने उद्देश्यले समर्पण अभियान सुरु गरिएको सहारा नेपालले जनाएको छ । कार्यक्रम वर्षमा १ पटक गरिन्छ ।
समर्पण कार्यक्रम गर्नका लागि विभिन्न संघ संस्थामार्फत २ हजारका दरले रकम जुटाइएको थियो । एकातिर मञ्चको र अर्कातिर श्रमको उद्घाटन गरी कार्यक्रमलाई दुई चरणमा उद्घाटन गरियो । उद्घाटनमा स्वस्ती वाचन, स्वागत नृत्य र झाँकी प्रस्तुत गरिएको थियो भने चतुर्भुज महाराज चुडामणिले प्रवचन तथा प्राध्यापक डा. रामप्रसाद उप्रेतीले बागमती सरसफाई अभियानका बारेमा आफ्नो अनुभव बाँडेका थिए ।
श्रम कार्य अन्तरगत विभिन्न १० वटा उपसमितिबाट १० वटा ब्लकमा श्रमदान गरिएको थियो । समर्पण कार्यक्रममा श्रमदान मात्र नगरेर नाँचगान तथा मनोरञ्जन समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार रामकृष्ण ढकाल, तुलसी पराजुली र जुना प्रसाईबाट सांगीतिक कार्यक्रम गरियो भने हाँस्यकलाकार मनोज गजुरेलले हाँस्यव्यङ्ग्यमार्फत मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुबाट समेत नृत्य प्रस्तुत गरिएको थियो ।
विहान दश बजेबाट बेलुका ५ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो । स्वस्फुर्त रुपमा आफैंले केही गरौं भन्ने भावनाको विकास गर्न यस्तो अभियान सुरु गरिएको बताइएको छ । समर्पण कार्यक्रमका लागि प्रमुख सल्लाहकारका रुपमा झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाललाई राखिएको थियो ।
समर्पण अभियानमा श्रमदान गर्नका लागि स्थानीय सबै संघ संस्थाले सक्रिय रुपमा सहभागिता जनाएका थिए ।
समर्पण कार्यक्रम अन्तरगत कनकाई नदीको सरसफाई तटबन्धन लगायतको श्रमदान जुटाइएको थियो भने कार्यक्रमबाट जुटेको आर्थिक श्रोतबाट मलामी काजक्रिया गर्ने भवन, शौचालय लगायतको पूर्वाधार निर्माण गरिने सहारा नेपाल सकोसले जनाएको छ ।
















प्रतिक्रिया