धनकुटा । धनकुटाको पर्यटन ग्राम भेडेटारमा सञ्चालित होटलहरूमा एक हजारभन्दा बढी युवाले रोजगार पाएका छन् । प्रायःहोटल व्यवसायसम्बन्धी सीपमूलक तालिम लिएका दक्ष युवा यहाँका होटलमा आकर्षक तलबमा रोजगार बनेको पाइएको हो ।
झन्डै १५० को हाराहारीमा ठूला तथा साना होटल रहेको भेडेटारमा प्रत्येक होटलमा कम्तीमा पाँचदेखि १० जनासम्म युवाले रोजगारी पाइरहेको होटल एसोसिएसन अफ भेडेटारका सचिव जीतेन्द्र रुम्दालीले बताउनुभयो ।
“युवा विदेशिनेक्रम बढिरहेका बेला भेडेटारले मात्रै एक हजारभन्दा बढी युवालाई रोजगारी दिनु ठूलो कुरा हो,” उहाँले भन्नुभयो, “सरकारले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, पानीलगायतका पूर्वाधारको विकास गरिदिए थप टेवा पुग्थ्यो ।”
होटल व्यवसायका लागि राजधानी भनेर चिनिन थालेको भेडेटारमा अहिले नयाँ होटल खुल्ने क्रमसँगै दक्ष युवाले आकर्षक तलबमा रोजगारी पाउन थालेका छन् ।
होटल व्यवसायसम्बन्धी तालिम लिएका युवाले यहाँका होटलबाट रु १८ हजारसम्म तलब पाउने गरेको भेडेटारका होटल व्यवसायी गोविन्द कार्कीले बताउनुभयो ।
हातमा सीप भएका युवाले विदेशमा भन्दा स्वदेशमै बढी कमाइ गर्नसक्ने कार्कीको भनाइ छ । भेडेटारमा मात्रै बर्सेनि १०० भन्दा बढी युवाले रोजगारी पाउने होटल व्यवसायीहरू बताउँछन् ।
यस क्षेत्रमा बर्सेनि १० देखि १५ को सङ्ख्यामा खुल्ने पर्यटक लक्षित होटलले यसको माग धान्ने गरेका छन् । नयाँ होटलले पनि युवालाई रोजगारीका लागि पर्याप्त अवसर दिने गरेको भेडेटारकै मन शान्त ग्यालरी रिसोर्टका सञ्चालक रोजन राईले जानकारी दिनुभयो ।
नयाँ वर्षको अवसर पारेर हालै सञ्चालनमा आएको राईको रिसोर्टमा ११ जना युवाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । “काम नपाएर त्यसै बेरोजगार बस्नुभन्दा केही गर्नु नै बेस हो” राईले भन्नुभयो, “सबैले देशमै काम गर्ने हो भने विदेश गइरहनै पर्दैन ।”
तराईका जिल्लाबाट सबैभन्दा नजिकको दुरीमा हिमाली वातावरण पाइने भेडेटारमा गर्मी सुरु भएसँगै पर्यटकको सङ्ख्या पनि बाक्लिँदै गइरहेको छ । हाल दैनिक ५०० को हाराहारीमा पर्यटक यस क्षेत्रमा घुम्न आउने गरेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष विष्णुचरण श्रेष्ठले बताउनुभयो ।
भेडेटारमा पर्यटक बाक्लिएसँगै होटल व्यवसायमा लगानीसमेत बढ्ने गरेको छ । हाल भेडेटारमा तीन दर्जन सुविधा सम्पन्न होटलहरू रहेका छन् ।












प्रतिक्रिया