२८ आश्विन २०८३, बुधबार

बेनी-जोमसोम सडक चार दिनपछि खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beni_jomsom-road

म्याग्दी । स्थानीय यातायात व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि बन्द बेनी–जोमसोम सडकमा सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

म्याग्दी र मुस्ताङमा भएको छुट्टाछुट्टै सर्वदलीय, सर्वपक्षीय बैठकमा सरोकारवालाबीच चारबुँदे सहमति भएपछि सोमबारदेखि सवारीसाधन बन्द गरेका व्यवसायीले आन्दोलन फिर्ता लिएर आज बिहानदेखि यातायात सेवा सुचारु गराएका हुन् ।

हरियो नम्बर प्लेट भएका पर्यटक गाडीको मापदण्ड र गुणस्तर जाँच गर्ने विषयमा लिखित सहमति भएपछि सवारी सञ्चालन गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटक सवारी सञ्चालन कार्यविधि– २०६८ अनुसार पोखरा जोमसोम रुटमा चल्ने हरियो नम्बर प्लेट भएका युरो–३ मोडलका पाँच वर्षभन्दा कम समय प्रयोगमा आएकाबाहेकका गाडीलाई रोक लगाउनुपर्ने माग राख्दै स्थानीय व्यवसायीले सार्वजनिक यातायात बन्द गराउँदा सयाँै यात्रु गन्तब्यमा पुग्न नपाएर अलपत्र परेका थिए ।

यसैगरी अग्निनियन्त्रक उपकरण, एसी, एयर ब्याक, एयर कुलरलगायतका पूर्वाधार नभएका गाडीलाई कार्यविधिअनुसार पर्यटक बोक्न दिन नहुने स्थानीय व्यवसायीको माग छ । बेनी र जोमसोममा भएको छुट्टाछुट्टै बैठकमा बेनी र लेतेमा प्रहरीबाट पर्यटक गाडी मापदण्ड एवम् स्तरअनुसार भए नभएको जाँच गर्ने सहमति भएको छ ।

मापदण्ड पूरा गरेका पर्यटक गाडीलाई बिना रोकतोक सञ्चालन गर्न दिने स्थानीय यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।