काठमाडौं, १९ वैशाख । सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गरेको छ ।
सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरूको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । सरकारले रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौलालाई कायममुकायम सचिवको जिम्मेवारीसमेत तोकेको छ ।
बैठकले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि एसियाली विकास बैंकको दुई अर्ब ९० करोड वैदेशिक सहायता लिन स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
सरकारले विशिष्ट नागरिकहरूलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार बैंककमा उपचाररत एमालेका संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । लामो समय देखि अस्वस्थ्य ओली हाल बैंककमा उपचाररत छन् ।
यसैगरी, सरकारले कांग्रेसका नेता एवम् पूर्व मन्त्री गोविन्दराज जोशीलाई एअर एम्बुलेन्सको खर्च र स्वास्थ्य उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसका नेता सिद्धराज ओझालाई पनि औषधि उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।













प्रतिक्रिया