काठमाडौं । केही व्यक्तिहरूको बेहोसीले कहिलेकाही प्रहरीले नराम्रोसँग दु:ख पाउछन् । राजधानीमा यो साता केही घटनाले प्रहरीले निकै दु:ख पाए । मदिरा पिएर कलंकीको गेष्ट हाउसमा सुतेका एक युवकले आफू अपहरणमा परेको भन्दै प्रहरीलाई गलत सूचना दिए । त्यसरी प्रहरीसँग रोमान्स गर्न खोज्दा राजविराज घर भएका राजेश झा प्रहरी हिरासतमा छन् ।
गत साता नै एक महिलाको बेहोसीले गर्दा प्रहरीले निकै दु:ख पाए । नेपालीसँग घरजम गरेकी एक रसियन सुन्दरी गत आइतबार एकाएक बेपत्ता भइन् ।
कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सपरिवार पार्टीमा गएकी ओल्गा क्षेत्री यसरी हराएपछि परिवारलाई मात्र होइन प्रहरीलाई पनि तनाव भयो । कसैले अपहरण त गरेन ? घटना महानगरीय प्रहरी परिसर काममाडौंमा पुग्यो । एसएसपी रमेश खरेलले डिएसपी अर्जुन चन्द ठकुरीलाई अनुसन्धानको जिम्मा दिए । बहुमूल्य गहना लगाएकीले त्यसकै लागि कसैले उनलाई अपहरण गरेको हुनसक्ने आशंका प्रहरीको थियो ।
घटना गम्भीर किसिमको भएकाले डिएसपी चन्द आफैं फिल्डमा खटिए ।
प्रहरीको अनुसन्धानको सबैभन्दा बलियो हतियार मोबाइल नै हो । ओल्गाले बोकेको मोबाइलका आधारमा प्रहरीले अनुसन्धान थाल्यो । मोबाइल अफ थियो । नेपाल टेलिकमको सहयोगमा अनुसन्धान गर्दा डल्लु क्षेत्रमा उनको मोबाइलको लोकेशन बेला बेलामा देखिएको थियो । कसैले डल्लुमा लगेर उनलाई बन्धक बनाइएको हुनसक्ने आशंकामा प्रहरीले त्यतै अनुसन्धान केन्द्रीत गर्यो । ताहाचाल क्षेत्रमा उनको मोबाइल रहेको निष्कर्षमा प्रहरी टोली पुग्यो । महिलाको फोटो छापेर डिएसपी चन्द आफैं सो क्षेत्रमा पुगी ‘यो महिलालाई देख्नुभएको छ,’ भन्दै सोध्दै हिडे । तर धेरैले थाहा नभएको बताए । अनुसन्धानको क्रममा ताहाचलस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक भट्टी पसलमा उनको मोबाइल प्रहरीले फेला पार्यो । उनले आईफोन बोकेकी रहेछिन् । भट्टीमा २ सय ३० रुपैयाँको लोकल मदिरा पिएकी थिइन् । तर उनीसँग पैसा सकिएको थियो । रसियनहरू पिउनमा खप्पिस मानिन्छन्, ओल्गा पनि कम थिइनन् । त्यसकारण मदिराको नशामा उनले २ सय रुपैयाँ वापत मोबाइल नै भट्टीमा छोडिदिइन् । मोबाइल त फेला पर्यो तर मान्छे फेला परिनन् । त्यहाँबाट मोबाइल छाडेर उनी कालिमाटीतर्फ गएको प्रहरीले मंगलबार पत्ता लगायो ।
प्रहरी बुधबार बिहान सात बजेबाट नै कालिमाटी क्षेत्रमा महिलाको फोटो देखाएर उनको सोधी खोजी गरे । केही व्यक्तिले देखेको बताए । कालिमाटी तरकारी बजारमा तरकारी बोक्ने गाडीमा लिफ्ट मागेको कुरा बताए । तर कता गएको भनेर कसैले बताउन सकेनन् । प्रहरीको अनुसन्धानको सबै बाटो बन्द जस्तै थिए । श्रीमान, छोरीलाई साथमा लिएर डिएसपी चन्द ६ घन्टादेखि हिडेर उनको खोजी गरीरहेका थिए । उनका श्रीमान डा. रविबहादुर क्षेत्री र छोरी समेत प्रहरीसँगै खोजीमा सँगै थिए । डा.क्षेत्री नाष्टमा आबद्ध व्यक्ति हो, जसले रसियामा पढ्ने क्रममा ओल्गासँग बिहे गरेका थिए ।
दिउसो १ बज्दा पनि केही पत्ता नलागेपछि उनका श्रीमान डा.क्षेत्रीले हार खाइसकेका थिए । अब पत्रिका र टिभीमा बिज्ञापन दिएर खोजी गर्ने बताए तर, डिएसपी चन्दको मन मानेन । कालिमाटी बजारको पछाडी रहेको गल्लीमा फोटो देखाउदै उनी भट्टीमा छिरे । भट्टीमा खाना खाइरहेका एक मजदुरले भर्खरै आफूले अर्काे भट्टीमा देखेको कुरा बताए । खाना बीचमै रोकेर रसियन महिला रहेको भट्टीमा लिएर गए, जहाँ ओल्गा नेपाली लोकल मदिरा पिएर नेपाली महिलाहरूसँग बसिरहेकी थिइन् । बेपत्ता भएको तीन दिनपछि उनी त्यसरी फेला परिन् । भट्टीका महिलाहरूलाई साथी बनाएर उनी त्यही बस्न थालेकी थिइन् ।
श्रीमान र छोरीलाई भेट्ने वित्तिकै अंगालो हालेर रोइन ।
किन यसरी वेपत्ता भएको ? डिएसपी चन्दको उत्तरमा उनले भनिन्,‘बिग प्रोबलम’ । अरु केही कुरा खुलाइनन् । प्रविधिको यो दुनियाले प्रहरीले ‘म्यानुअल्ली’ बेपत्ता भएकी एक महिलालाई यसरी पत्ता लगायो । तनावका कारण विरक्तिएर उनी मदिराको नशामा त्यसरी भट्टीमा बरालिएकी थिइन्, जसको तनाव प्रहरीले बेहोर्नुपर्यो ।














प्रतिक्रिया