काठमाडौं, १३ कात्तिक । चीनबाट पनि इन्धन ल्याउन समझदारी (एमओयू) भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको कान्तिपुर दैनिकले छापेको छ ।
‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ’, निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् ।
एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो ।
निगमका अनुसार बिहीबार ९ ट्यांकर पेट्रोल, ६७ ट्यांकर डिजेल र ७ ट्यांकर हवाई इन्धन भरिएका छन् । भन्सारमा अवरोध नभए सबै ट्यांकर नेपाल भित्रिनेछन् ।















प्रतिक्रिया