काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय राजनीतिक समन्वय समितिको आजको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको समितिको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र र समुदायबाट गर्ने तथा कुन दलले भूमिका पाउने भन्नेबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन ।
बैठकमा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे कुराकानी भएको र शुक्रबार बिहान ९ बजे पुनः बैठक बसी टुङ्गो लगाउने निर्णय भएको समितिका सदस्य एवम् नेकपा (माले) का महासचिव सिपी मैनालीले राससलाई जानकारी दिनुभयो ।
“उपराष्ट्रपतिको उम्मेदवार कुन क्षेत्र वा समुदाय र भूमिका पाउने दलबारे कुराकानी भयो, बढी जोड तराईका हिजो प्रतिनिधित्व नभएका तल्लो समुदायलाई प्रतिनिधित्व दिनुपर्छ भन्ने पनि छ, तराईका थारु, दलित, पिछडिएका जनजातिलाई दिन सकिन्छ कि भन्नेबारे छलफल भयो, भोलि(शुक्रबार) बिहान यसको टुङ्गो लाग्छ,”–उहाँले भन्नुभयो ।
नेता मैनालीका अनुसार उपराष्ट्रपतिको उम्मेदवारीका लागि एमाओवादीले आफूलाई सहयोग गर्न प्रस्ताव राखेको थियो भने साना दलको पनि आकाङ्क्षा देखिएको छ । बैठकमा समितिका संयोजक एकीकृत नेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्तारुढ गठबन्धनका शीर्ष नेताको सहभागिता थियो ।
नेपाली काँगे्रसले उपराष्ट्रपतिमा अमियकुमार यादव र एमाओवादीले नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । उपराष्ट्रपतिको निर्वाचन शनिबार हुँदैछ । रासस












प्रतिक्रिया