काठमाडौं, १२ कात्तिक । अघोषित नाकाबन्दीकाबीच नेपालले चीनसँग इन्धन व्यापार सम्झौता गरेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले त उक्त व्यापार सम्झौताले भारतलाई धेरै नोक्सान हुने टिप्पणी गरेका छन् । समाचारहरुमा नेपालको चीन सम्झौताले भारतीय अर्थतन्त्रमा समेत असर पर्न सक्ने आकलन गरेका छन् । तर, भारतको संस्थापन पक्षले चीनसँगको सम्झौतामा स्पष्ट प्रतिक्रिया दिएको छैन् ।
भारतको सरकारको स्वामित्वमा रहेको भारतीय आयल कर्पोरेशन (आईओसी)ले चीनसँग नेपाल आयल निगमले गरेको तेल खरिदको सम्झौतामा आफू ‘पर्ख र हेर’ को अवस्थामा रहेको जनाएको छ ।

चीनसँगको व्यापार सम्झौतासँगै नेपालमा आफ्नो एकाधिकार तोडिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आईओसीका अध्यक्ष तथा प्रबन्ध निर्दशक बी अशोकले नेपालले चीनसँग गरेको इन्धन व्यापार सम्झौताबारे आफूहरुले मूल्यांकन गरिरहेको बताए ।
अध्यक्ष अशोकले अब भारतले नेपालमा इन्धनको आपूर्ति बढाउने घोषणा समेत गरेका छन् । उनले व्यापार घाटा नाफाको प्रश्नमा भने कुनै उत्तर दिएनन् । उत्तर नदिएपनि भारतलाई नोक्सान हुने देखिएपछि उनले अब इन्धनको आपूर्ति बढाउने कुरा मात्रै जानकारी गराए ।
भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले प्रकाशित गरेको समाचार अनुसार चीनसँग नेपालले इन्धन खरिद गर्नेबारे बेइजिङमा सम्झौता गरेको भोलिपल्टै आइओसीले नेपालका नाकाहरुमा आन्दोलन रोकिएलगत्तै इन्धनको आपूर्ति बढाउने बताएको हो ।












प्रतिक्रिया