
काठमाडौं, ११ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा रहेका आठ दलका ४२ सभासदले राष्ट्रपति चुनावमा भाग नलिने भएका छन् ।
नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसद बैठकमा अबको केही बेरमा गोप्य मतदान हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङका उम्मेदवार हुनुहुन्छ ।
मधेसी मोर्चामा आवद्ध चार दल तमलोपा, संघीय समाजवादी फोरम, सद्भावना र तमसपाका ३५ सभासदले भाग लिने छैनन् ।
यस्तै संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ । मोर्चामा आवद्ध शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन सभासद छन् भने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसँग एक सभासद छ । थरुहट तराई पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । एक सभासद भएको नेपाल सद्भावना पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ ।
साना पाँच दलको भोट कुलबहादुरलाई
यसैबीच साना दलहरुको समानुपातिक समावेशी मोर्चाले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई भोट हाल्ने निर्णय गरेको छ ।
पाँच दल र दुई स्वतन्त्र सभासद आबद्ध मोर्चामा सात सभासद छन् । मोर्चाको बुधबार बसेको बैठकले कांग्रेस उम्मेदवार गुरुङलाई मतदान गर्ने निर्णय गरेको सभासद रामकुमार राईले जानकारी दिनुभयो ।












प्रतिक्रिया