२९ आश्विन २०८३, बिहिबार

पानी नपरेपछि गाउँगाउँमा भ्यागुताको बिहे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vyaguta-Marriage-Bihe

कञ्चनपुर, १४ असार । असारको आधाआधिसम्म रोपाइँका लागि पानी नपरेपछि कञ्चनपुरका गाउँगाउँमा कृषकले भ्यागुताको बिहे गर्न थालेका छन् ।

भ्यागुताको बिहे गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने जनविश्वासका कारण यहाँका कृषकले भ्यागुताको बिहे गर्न थालेका हुन् ।

जोडी भ्यागुतालाई तलाउबाट खोजेर पातमा राखी सम्पूर्ण विधि पूरा गरेर विवाह गर्ने गरिएको नौखरीका स्थानीय भागिराम चौधरीले बताउनुभयो ।

अन्य वर्षझैँ यस वर्षसमेत भ्यागुताको विवाह धुमधामसँग गर्न थालेको उहाँले बताउनुभयो । भ्यागुताको विवाह गरेपछि गत वर्ष पानी परेको थियो, उहाँले भन्नुभयो, “यस वर्षसमेत लामो समयदेखि पानी नपरेपछि भ्यागुताको विवाह गर्न लागेका छौँ ।”

खेतमा रोप्नका लागि ठिक्क पारिएको धानको बेर्ना सुक्नै लागेकाले भ्यागुताको बिहे गरेमा पक्कै पनि पानी पर्छ र रोपाइँ गर्न पाउँछौँ, उहाँले भन्नुभयो ।

भ्यागुताको विवाहमा सहभागी हुन आएकी बाणिका सोभा खुनाले भ्यागुताको विवाह गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने भएकाले विवाहपछि इन्द्रदेवको समेत पूजा गरिने बताउनुभयो । बिहेमा बेहुली र दुलहा पक्षकालाई भोज खुवाउने र दक्षिणासमेत दिने गरिएको छ ।

भ्यागुताको विवाहमा सहभागी हुनेमध्ये पाका उमेरका मानिस पानी पाउनका लागि र स–साना बालबालिका रमाइलो साथ भोज खानका लागि जाने गर्दछन् ।

भ्यागुताको विवाह गर्नका लागि आवश्यक सामग्री र भोज खुवाउने अन्न तीनदेखि पाँच गाउँबाट उठाउने गरिन्छ । रासस