काठमाडौं । बुधबार बिहान होर्मुज जलसन्धिमा समुद्री बारुदी सुरुङसँग ठोक्किएर एउटा मालवाहक जहाज डुबेको खुलेकाे छ । उक्त जहाजले २,५०० वटा कन्टेनर बोकेको थियो ।
इरानको रिभोलुसनरी गार्ड्स (आइआरजीसी)ले यो जानकारी दिएको हो । समाचार अनुसार ठोक्किएपछि जहाजमा आगो लागेको थियो । द्वन्द्व सुरु भएयता बारुदी सुरुङसँग ठोक्किएर जहाज डुबेको यो पहिलो घटना हो ।
समाचार अनुसार डुबेको जहाजको नाम ‘जीएफएस प्राइड’ हो । यो सिंगापुरको झण्डाबाहक जहाज थियो र यसको क्षमता २,८२४ कन्टेनर बोक्ने थियो ।
यो जहाज संयुक्त अरब इमिरेट्समा आधारित कम्पनीद्वारा सञ्चालित थियो । जहाजमा सवार मानिसहरूको संख्याबारे भने कुनै जानकारी उपलब्ध छैन् ।
आइआरजीसीले बुधबार ढिलाे गरी जनाएअनुसार उक्त जहाज होर्मुज नजिकैको अनधिकृत र जोखिमपूर्ण मार्ग हुँदै अघि बढिरहेको थियो ।
निर्धारित मार्गबाट बाहिरिने कुनै पनि जहाजले आफ्नो कार्यको परिणाम भोग्नुपर्ने चेतावनी इरानले यसअघि पनि पटक-पटक दिइसकेको छ ।
यस घटनापछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले स्थानीय जलयान र माछा मार्नेहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । उसले उनीहरूलाई समुद्रमा बगिरहेका कन्टेनरहरूबाट टाढा रहन आग्रह गरेको छ किनकि तिनले अन्य जहाजहरूका लागि खतरा निम्त्याउनुका साथै समुद्री आवागमनमा अवरोध पुर्याउन सक्छन् ।
होर्मुजको जलसन्धिले फारसी खाडीलाई ओमानको खाडीसँग जोड्छ । यो विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो, जहाँबाट ठूलो परिमाणमा कच्चा तेल र अन्य सामानहरू बोकेका जहाजहरू आवतजावत गर्छन् । यस क्षेत्रमा जलयानहरूको सुरक्षालाई लिएर लामो समयदेखि चिन्ता रहँदै आएको छ ।
बेलायतको सामुद्रिक सुरक्षा निकाय ‘युकेएमटिओ’का अनुसार मंगलबार होर्मुज जलसन्धिमा अज्ञात वस्तुहरूद्वारा दुईवटा व्यावसायिक जहाजमाथि आक्रमण भयो। दुवै जहाजमा सामान्य क्षति पुगे पनि कोही पनि घाइते भएको खबर छैन । आक्रमणपछि दुवै जहाज आफ्नो यात्रा निरन्तर अघि बढाउन सफल भए । यद्यपि, आक्रमणमा के प्रयोग गरिएको थियो भन्नेबारे उक्त निकायले स्पष्ट पारेको छैन ।













प्रतिक्रिया