२२ कार्तिक २०८३, आइतबार

बालुवाटारमा एमालेले मध्यरातमा गरेको निर्णयले राजनीतिक हलचल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-sthai-samiti-meetingकाठमाडौं, ८ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

बालुवाटारमा शनिबार राति साढे दश बजेसम्म बसेको स्थायी समितिको बैठकले आफ्ना तर्फबाट राष्ट्रपतिमा उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

‘सहमतिको प्रक्रियाबाट नै राष्ट्रपति निर्वाचनको निम्ति एमालेले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ’, एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमालेले प्रस्तुत गर्ने राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।’

‘सबै राजनीतिक दल सहमतिको साथ अगाडि बढ्नुपर्दछ भन्ने आमजनताको चाहना र भावनालाई कदर गर्दै, विगतमा खेलेका भूमिकाहरुको पुनः स्मरण गर्दै वर्तमान चुनौतीहरूको सामना गर्न मुलुकुको एकतालाई अक्षुण राख्नुपर्नेमा बैठकको जोड छ’, एमालेले भनेको छ ।

संविधानको कार्यान्यवन गर्दै राष्ट्रको अग्रगतिका लागि सहमतिको यात्रा निरन्तर रुपमा अगाडि बढाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई बोध गर्दै राष्ट्रिय सहमतिको यात्रामा सँग–सँगै अघि बढ्न नेपाली कांग्रेसलगायत सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ ।

एमालेले दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताको साथ छलफल गरेको छ ।

बैठकले मुलुकको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्याबस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभएको छ ।