काठमाडौं, ७ कात्तिक । संविधानको नयाँ प्रावधानअनुसार मुलुकको दोस्रो राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संसदले कार्यक्रम तय गरेको छ ।
सभामुखमा निर्वाचित भए पश्चात नवनिर्वाचित सभामुख ओनसरी घर्तीमगरले पहिलो पटक आज (शनिबार) बैठक सुरु गर्दै उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापालाई बोल्न समय दिनुभयो ।
संसदमा बोल्दै थापाले राजनीतिक मुद्दालाई राजनीतिक तबरबाटै समस्याको समाधान गर्ने भन्दै मन्त्रिपरिषदको पहिलो बैठकले वार्ता कमिटी गठन गरी औपचारिक रुपमा आन्दोलनरत दललाई वार्तामा आह्वान गरेको बताउनुभयो ।
उहाँले मुलुकको गम्भीर चुनौतीको समाधानका लागि सत्तापक्षसँगै प्रमुख प्रतिपक्ष दल पनि यसमा सहभागी भएर आन्दोलनरत पक्षसँग समाधानको लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले आन्दोलनरत पक्षका कतिपय माग सम्बोधन गर्ने कार्य भएको र बाँकी विषयमा पनि सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको भन्दै भोलि सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग वार्ता गरी चाँडोभन्दा चाडो समस्याको समाधान गर्ने बताउनुभो ।
मधेसमा आन्दोलनरत राजनीतिक दलको आन्दोलन र भारतीय पक्षबाट आपूर्ति व्यवस्थामा असहजताका कारण जनजीवन जटिल बन्दै गएको अवस्थामा राज्य गम्भीरताका साथ अघि बढ्नु पर्ने अवस्था रहेको परराष्ट्रमन्त्री थापाले बताउनुभयो ।
झण्डै दुई महिना लामो आन्दोलनले राज्यका हरेक क्षेत्रमा गम्भीर र नकरात्मक असर पारेको भन्दै थापाले आर्थिक क्षेत्रमा झण्डै भूकम्पले पारेको प्रभाव नजिकको आकडामा असर पारेको बताउनुभयो ।
उहाँले यस समस्यालाई समाधान गरी वार्ता गर्न र कुटनैतिक पहल गर्न आफू गत हप्ता नयाँदिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री, विदेश मन्त्री, गृह मन्त्री र आपूर्ति मन्त्रीसँग आपूर्ति समस्या समाधानका लागि औपचारिक कुराकानी गरेको बताउनुभयो ।
उहाँले दुई देशबीचको कुटनीतिक सम्बन्ध अझ बलियो बनाउन र नेपालको पारबहन सुविधा सुचारु गर्न भारतीय पक्ष सकरात्मक भएको जानकारी सदनलाई गराउनुभयो ।
भारतीय पक्षले सबै नाकाबाट आपूर्ति व्यवस्था सहज गराउने र नाकाहरुमा रोकिएर रहेका मालबहाक सवारी साधन उपयुक्त नाकाबाट नेपाल पठाउन र नजिकको नाकास्थित तेल डिपोबाट तेल भरी पठाउन सहजीकरणको विश्वास दिलाएको परराष्ट्रमन्त्री थापाले उल्लेख गर्नुभयो ।
यद्यपि भारतबाट फर्किएर आएपछि वार्तामा भएअनुसारको सहजीकरणको अनुभूति हुन सकेको छैन । भारत सरकारले दिएको बचनअनुसार नेपाली जनताले भूपरिव्यष्ठित मुलुकको पारबहन सुविधा उपभोग गर्न पाउनु पर्छ ।
जनताले भोगेको दुःख र कष्टको सरकारले नजिकबाट हेरेको भन्दै यो समस्या सरकारले विरासतको रुपमा पाएको उहाँले बताउनुभयो ।
सरकारले युद्धस्तरमा काम गरिरहेको भन्दै उहाँले आपूर्ति व्यवस्था सहज र सुलभ बनाउन र भारतसँग कुटनीतिक पहलसँगै इन्धन आपूर्ति अभावलाई चाँडो हटाउन बैकल्पीक प्रयास स्वरुप निजी क्षेत्रको सहयोग र अन्य मुलुकबाट इन्धन आपूर्ति गर्न प्रारम्भीक कार्य सुरु भइसकेको बताउनुभयो ।
‘जनताले भोगीरहेको समस्या एउटा स्वाभीमानी र स्वतन्त्र राष्ट्रले आफ्नो निर्णय आफैले गर्न लाग्दा विश्व समुदायले स्वागत र सहयोग गर्नु पर्ने हो’, उहाँले भन्नुभयो, ‘तर दसैँको बेलामा पनि जनताले अभाव सहेर भएपनि सरकार, राजनीतिक दल र नेतृत्वप्रति देखाएको सदासयप्रति स्वाभीमानी नेपाली जनतामा आभार व्यक्त गर्छु ।’
उहाँले जनताले देखाएको सदभावले राष्ट्रिय स्वाभीमान र स्वतन्त्रतालाई अक्षुण राख्न सरकार प्रयत्नशील रहने बताउनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यक्रम
यसैबीच, संसदको बैठकले नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्र्तगत नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र समय तय गरेको छ ।
संसदको बैठकमा सभामुख घर्तीमगरले संसदको अन्तरिम कार्यविधिअनुसार संसद सचिवालयका महासचिवको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नुभएको छ ।
संविधानको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि भोलि आइतबार अपरान्ह ४ बजेसम्मको समय दिनुभएको छ ।
यदि दलहरूबीच सहमति हुन सकेनभने संविधानको सोही धाराको उपधारा ३ बमोजिम बहुमतका आधारमा चयन गर्न कात्तिक ११ गते ११ बजे निर्वाचनको निम्ति मिति तथा समय सभामुख घर्तीले तोक्नुभएको छ ।
संविधानको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमति आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुनेछन् ।












प्रतिक्रिया