६ कार्तिक २०८३, शुक्रबार

भारतका अगाडि ‘नाकाबन्दी’ भन्न फेरि डरायो नेपाल, उल्टै खप्की खानुपर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa_Sushma-Swaraj
काठमाडौं, २ कात्तिक । नाकाबन्दी खुलाउन तीनदिने भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा सोमबार भएको भेटवार्तामा थापाले ‘नाकाबन्दी’ शब्द एकपटक पनि उच्चारण गरेनन् ।

उपप्रधानमन्त्री थापाले दुवै भारतीय मन्त्रीसँग सीमामा भएको आपूर्ति अप्ठेरोलाई सहज बनाइदिन आग्रह गरेका थिए । ‘उपप्रधानमन्त्रीज्यूले इन्धन आपूर्तिका विषयमा पूर्ण तयारीका साथ भारतीय पक्षसँग नेपालको धारणा राख्नुभएको छ । उहाँले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी गराउनुभएको छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने ।

शनिबार नयाँ दिल्ली पुगेका थापासँग आइतबार बिहान ११ः१५ बजे भारतीय विदेश सचिव एस जयशंकरले होटल ओबरयमा शिष्टाचार भेट गरेका थिए । त्यसपछि हैदरावाद हाउसमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच द्विपक्षीय बैठक बसेको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण र भेटवार्ताका विषयमा त्यहाँस्थित नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा समेत ‘नाकाबन्दी’ शब्द उल्लेख छैन । विज्ञप्तिमा लेखिएको छ, ‘बैठकमा नेपालमा कार्गाे भेहिकल भिœयाउन सहज बनाउने सम्बन्धमा छलफल भएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री थापाज्यूले नेपाल–भारत नाकामा मालवाहक सवारी साधनको आवतजावत सहज बनाउन भारत सरकारसँग अनुरोध गर्नुभयो ।’

थापा र स्वराजबीचको द्विपक्षीय बैठकपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालमा शान्ति, स्थिरता र मेलमिलापका लागि कार्य भइरहेको आफ्नो ट्विटर ह्यान्डलबाट प्रतिक्रिया जनाए । बैठकमा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार भारतीय विदेशमन्त्री स्वराजले मालवाहक सवारी साधान नेपाल प्रवेश गर्न भारतले नरोकेको बताएकी थिइन् ।

‘भारतीय विदेशमन्त्रीले नाकामा भएको मधेसकेन्द्रित दलको प्रदर्शनका कारण मालवाहक सवारी साधन आवातजावत गर्न कठिनाइ भएको जनाउनुभयो,’ बैठकमा सहभागी एक नेपाली सहभागीले भने, ‘नाकामा देखिएको समस्या नेपालको आन्तरिक कारणको उपज भएको बताउँदै भारतीय विदेशमन्त्रीले बैठकमा आन्तरिक मामिला नेपालले समाधान गरे आफैं समस्या सुल्झने जनाउनुभयो ।’

स्वराजसँगको द्विपक्षीय बैठकपछि उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । नागरिक दैनिकमा समाचार छ ।