काठमाडौं, १३ असार । संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको आजको बैठकले लक्ष्मणलाल कर्णलाई सर्वसम्मतिले समितिको अध्यक्ष चयन गरेको छ ।
संविधानसभा सदस्य निर्वाचन २०७० का सम्बन्धमा देशव्यापी रुपमा भए घटेका विवादास्पद विषय तथा घटनासम्बन्धी उजुरी तथा जानकारी प्राप्त गर्न र भविष्यमा हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष तुल्याउन राय तथा सुझावहरू भए सो समेत सङ्कलन गर्न १० दिनको म्याद राखी सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ ।
आजको बैठकले समितिको कार्यविधि सर्वसम्मतिले स्विकृत समेत गरेको छ ।
संविधान मस्यौदा लेखनलाई निरन्तरता दिने उपसमितिको निर्णय
त्यसै गरी, संविधान मस्यौदा समितिअन्तर्गतको प्रस्तावना र परिभाषा उपसमिति, न्यायपालिका उपसमिति र मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगसम्बन्धी उपसमितिको आजको बैठकले मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
रमेश लेखकको संयोजकत्वमा बसेको न्यायपालिका उपसमितिको बैठक, जीतेन्द्रनारायण देवको संयोजकत्वमा बसेको प्रस्तावना र परिभाषा उपसमितिको बैठक र अइन्द्र सुन्दर नेम्वाङको संयोजकत्वमा बसेको मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरूसम्बन्धी उपसमितिको बैठकले उपसमितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विस्तृत अध्ययन एवम् छलफल गरी मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।















प्रतिक्रिया