३१ आश्विन २०८३, शनिबार

महेन्द्रनगरका होटलमा सत्ताइस बाल श्रमिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-1

बेलौरी (कञ्चनपुर), १३ असार । महेन्द्रनगरमा सञ्चालमा रहेका होटलहरूमा सत्ताइस बाल मजदुर कार्यरत रहेका छन् ।

नर्मदा बाल क्लबका अध्यक्ष किशोरप्रसाद जोशीले यहाँका १७० होटलमा सत्ताइस बाल श्रमिक कार्यरत रहेको जानकारी दिनुभयो ।

असार ८ गतेदेखि महेन्द्रनगरका होटलहरूमा जिल्ला बाल क्लब सञ्जाल र स्थानीय नर्मदा बाल क्लब कञ्चनपुरले बालश्रमिकहरूको अवस्थाबारे अध्ययन तथा तथ्याङ्क सङ्कलन गर्दा १८ वर्ष मुनिका सत्ताइस बालबालिका काम गरिरहेको भेटिएका हु्न । “उनीहरू सबैले बाध्य भएर होटलमा काम गर्नुपरेको बताएका छन्”, अध्यक्ष जोशीले भन्नुभयो ।

होटलमा कार्यरत बालश्रमिकहरू आरक्ष पीडित, सुकुम्बासी र बाढीपीडित समुदायका हुन् । “अनुगमनका क्रममा जति पनि होटलमा कार्यरत बालबालिका छन्, उनका घरमा दैनिक छाक टार्न र विद्यालय जान नसकेका कारण उनीहरू होटलमा बाध्य भएर काम गरिरहेको अवस्था छ”, अध्यक्ष जोशीले भन्नुभयो ।

अधिकांश बालबालिकाले प्राथमिक कक्षासमेत उत्तीर्ण गरेको पाइएको छैन । सबै बालबालिका विद्यालय उमेरका भएका कारण उनीहरूको राज्यले उद्धार गर्नुपर्ने अध्यक्ष जोशीको भनाइ छ ।

विद्यालय उमेर पुगेका अथवा बीचमै विद्यालय छाडेर होटलमा कार्यरत बालश्रमिकलाई शिक्षामा समाहित गर्न छुट्टै कार्यक्रम नरहेको शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक शिक्षा अधिकारी पदमराज भट्टले होटलमा कार्यरत बालश्रमिकलाई शिक्षामा समाहित गर्न छुट्टै कार्यक्रम नभए पनि अनौपचारिक शिक्षा केन्द्र तथा नजिकको विद्यालयमा पढ्न सक्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।