३१ आश्विन २०८३, शनिबार

नदी छेउका जनताले भेरी नदीको पानी खाना बाध्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bheri-Nadi-200x111जाजरकोट, १३ असार । बस्ती नजिकै गाउँ छ तर पिउने पानी छैन । भेरी नदी किनारका दर्जन भन्दा बढी बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था नहँदा वर्षांदेखिको समस्या ज्यूँका त्यूँ छ ।

सुक्खा मौसममा नदी किनारमा रहेका डोल्पा, रुकुम, जाजरकोट, सल्यान र सुर्खेतलगायतका जिल्लाअन्तर्गतका करिब दर्जन गाउँका जनतालाई भेरी नदी किनारमा खाल्टो पारेर बालुवासँगैको धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।

‘बर्सेनि खानेपानीको समस्या बल्झिन्छ, गाविस र जिविसमा बर्सेनि निर्णय हुन्छन् तर बढ्दो जनसङ्ख्या र मुहानकै समस्याले खानेपानी आयोजना विफल हुने गरेका छन्’, खगेनकोट वडा नं ९ मालुवाका कमल बोहराले भने ।

सदरमुकामसँग जोडिएको जगतिपुर कुदुका महिला गाउँबाट तीन घन्टा समय खर्चेर भेरी नदीको पानी बोक्छन् । एक दशकअघि एसियाली विकास बैंकले निर्माण गरिदिएको बृहत् खानेपानी आयोजनाका पाइपहरु छैनन् । मुहानमा पनि पानी सुकेको छ । खानेपानी समस्या रहेको जगतिपुर कुदुमात्रै होइन नदी किनार जोडिएका जाजरकोटलगायत चार जिल्लाका बासिन्दा स्वच्छ पानी पिउनबाट वञ्चित छन् ।

जाजरकोटको खगेनकोट दल्ली, मालुवा, मन्मै, गुभिर, लहाको कालिमाटी, खलङ्गाको रिम्नाघाट, ठूलाबगर, चुम्का, पिपे, रावतगाउँ, कालेगाउँ, मटेला, फेरा, भुरचौर, आली, छेडाबजार, भगवतीको तल्लु, चौखा, डोल्पाको लहा, त्रिवेणी, शिरविण्डे, रुकुम छेपारे, चौरजहारी, अम्बाचौर, स्यालखोला, सल्यानको घाटाचौर, लाहाघाट, राइरा, सल्लीबजार, सुर्खेतको लुकई, गजेडीचौर र राकम जामुने बजारका बासिन्दा सुक्खा मौसममा भेरीकै धमिलो पानी प्रयोग गर्छन् ।

सुर्खेतबाटै भेरी नदीको किनारै किनार जाजरकोट, सल्यान र रुकुममा सडक सञ्चालन भइसकेको छ । डोल्पासम्म जाने सडक निर्माणाधीन भएकाले पहाडका गाउँबाट सडक छेउमा बसोवास गर्ने क्रम जारी छ ।

‘पहाडका भिराला जग्गा चटक्कै छाडेर सडक छेउमा व्यापार गर्न बस्ती थपिँदै गएपछि खानेपानी व्यवस्थापन गर्न कठिन भएको छ’, जाजरकोटको कल्पतबाट रुकुम चिसापानी झरेर होटल सञ्चालन गरिरहेका दलबहादुर शाहीले भने । चिसापानी वरपरका कतिपय होटलहरु वर्षात्मा पनि भेरी नदीकै धमिलो पानी प्रयोग गर्छन् ।

नियमित भेरी नदीको पानी प्रयोगले स्वास्थ्य चौकीहरुमा उपचार गराउन आउने अधिकांश मानिस जुका, कमलपित्त, आउँ, रगत, पखाला र पेट दुख्ने प्रकृतिका रोगी रहेका छन् । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरु कमलपित्त र आउँ रगतका बढी हुने खगेनकोट दल्लीस्थित स्वास्थ्य चौकीका भरत भडेलले बताए ।

सबै गाउँमा विगत एक दशकअघि एसियाली विकास बैंकको सहयोगमा चौथो चरणको खानेपानी योजना सञ्चालन भइसकेका छन् । खानेपानी योजना सञ्चालन भएपनि मर्मतसम्भार र सञ्चालन जिम्मेवारी कसैले नलिएपछि सबै आयोजना भताभुङ्ग भएका छन् । यी ठाउँमा हिँड्ने यात्रुहरु पानीको अभावमा छटपटी गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।