६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दी गर्दै भारतले ६ हजार ९ सय मालबाहक गाडी रोक्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakabandiकाठमाडौं, १ कात्तिक । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् ।

यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय ५० रहेको छ ।

‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट टेलिफोनमा भने ।

जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् ।

पूर्वका काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर रोकिएका छन् ।

यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् ।

‘कोलकाताबाट नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्, तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने अवस्था छ,’ घिमिरे भने ।