काठमाडौँ, २६ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले पेट्रोलियम पदार्थलगायत आपूर्ति सहज बनाउने विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले देशमा देखिएको वर्तमान बेतिथिलाई अन्त्य गर्नुपर्ने सरकारको पहिलो दायित्य भएको बताउनुभयो ।
महासचिव पोखरेलले संविधानसँग असहमति राखेर तराईका आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर समस्या समाधान भएपछि संविधानको प्रभावकारी रुपमा कार्यान्वयन, भूकम्पले क्षति पु¥याएको जिल्लाको पुनःनिर्माण र नवनिर्माणमा पूर्णरुपमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान प्रधानमन्त्रीको निर्वाचन राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतापूर्वक निर्णय गर्ने पक्षको जीत भएको छ, यो जीत एमालेको मात्र हैन, राष्ट्रिय स्वाभिवानको जीत हो”–उहाँले थप्नुभयो ।
महासचिव पोखरेलले संविधानसभाबाट संविधान जारी हुनु विश्वको इतिहासमै ऐतिहासिक भएको र नेपालको जस्तो विविधतायुक्त संविधानसभाबाट संविधान जारी विश्वका कहीँ पनि नभएको जिकिर गर्नुभयो ।
पार्टी विगतको भन्दा अझ एकताबद्ध तरिकाले अगाडि बढेको हुनाले मात्र संविधान घोषणा गर्न सहज भएको भन्दै उहाँले एमालेका नेता नै चारतिर लागेको भए यो उपलब्धि हासिल गर्न सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र पशुपति चौलगाईंले पार्टीमा सङ्घीयताको संरचनासँगसँगै आन्तरिक संरचनाको प्रणाली नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने विचार राख्नुभयो ।
सो अवसरमा महासचिव पोखरेलले दोलखाबाट संविधासभामा प्रतिनिधित्व गरी संविधान जारी गर्न सफल पार्टीका स्थायी कमिटी सदस्य तथा सभासद् पशुपति चौलागाईं, सभासद् आनन्दप्रसाद पोखरेल, सभासद् पार्वत गुरुङ र पूर्व सभासद् शान्ति पार्खिनलाई सम्मानसमेत गर्नुभएको थियो ।
सम्मेलनले आजै नयाँ कार्यसमिति समेत चयन गर्नेछ । रासस












प्रतिक्रिया