काठमाडौं, २६ असोज । ५९ दिनदेखि सडक आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल र नाकाबन्दीका कार्यक्रममा संशोधन गर्ने संकेत गरेको छ ।
हिन्दू नेपाली जनताको महान पर्व घरघरमा प्रवेश गरिसकेको अवस्थामा आमहड्ताल र नाकाबन्दीको कार्यक्रमले असर पर्नेभन्दै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रममा हेरफेर गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार मधेसी मोर्चाले सरकारविरुद्धको असयोग आन्दोलन जारी राख्ने निर्णय गर्दै नाकाबन्दी र आमहड्तालको कार्यक्रम फिर्ता लिने जनाइएको छ । यद्यपि यस विषयमा अन्तिम निर्णय भने भएको छैन ।
मधेसी मोर्चाले नाकाबन्दीको कार्यक्रममा संशोधन गरे पनि भन्सार नाका र राजश्व कार्यालय बन्दको कार्यक्रमलाई शान्तिपूण जनअवज्ञाका रुपमा अगाडि बढाउनेछ ।
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्दोलनहरूका विषयमा मधेसी मोर्चाभित्र समीक्षा भएको भन्दै सरकारविरद्धको जनअवज्ञा कार्यक्रम यथावत रहने बताउनुभयो ।
‘११ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘नाकाबन्दी र आमहड्तालको कार्यक्रममा पनि समीक्षा भएको छ । संभवत यी कार्यक्रममा हेरफेर गरी सरकारविरद्धको शान्तिपूर्ण जनअवज्ञाका कार्यक्रम आउन सक्छ ।’
उहाँले आन्दोनलको ५९ दिन भइसक्दा पनि सरकारले माग सम्बोधन गर्ने विषयमा ध्यान नदिएको भन्दै दसैँपछि आन्दोलनलाई कडा रुपमा लैजाने चेतावनी दिनुभयो ।
सहअध्यक्ष श्रेष्ठले आफूहरूले अघि सारेका मागमा सरकारले प्रतिवद्धतासहित आधिकारिक धारणा सार्वजनिक नगर्दासम्म वार्ता नबस्ने उल्लेख गर्नुभयो । बैठक एघार बजे काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्दैछ ।












प्रतिक्रिया