काठमाडौँ, २५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन र अन्य ऐनकानुन परिमार्जनका लागि पनि प्रमुख राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने र एकै सरकारमा बसेर जुट्नुपर्ने बताउनुभयो ।
उहाँले त्यसकालागि आफू र आफ्नो दलले अन्तिम समयसम्म प्रयास गरेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्वाचनमा प्रमुख दलबीच विभाजनको स्थिति आएको बताउँदै उहाँले यतिखेर राष्ट्रिय मुद्दामा नेपाली काँग्रेसलगायत सबै राजनीतिक शक्ति मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित सबै नेपालीका लागि विजयको कुरा भएको विचार व्यक्त गर्दै अध्यक्ष दाहालले बाँकी रहेका जनचाहना पूरा गर्न र आदिवासी/जनजाति, मधेसीका मुद्दा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले मुलुकको अहिलेको विषम परिस्थितिमा फेरि पनि प्रमुख राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । आफनो दलका तर्फबाट फेरि पनि राष्ट्रिय मुद्दामा सहमति बनाएर मुलुकलाई शान्ति, स्थिरता र विकासतिर लैजाने प्रतिज्ञा गर्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रपति र प्रधानमन्त्री पदमा हालसम्म आफ्नो दलको दाबी नरहेको बताउँदै नयाँ परिस्थितिमा भने नयाँ शिराबाट कुरा हुने जानकारी दिनुभयो ।












प्रतिक्रिया