काठमाडौं, १२ असार । नेकपा एमालेको आशन्न नवौं महाधिवेशनमा कुल प्रतिनिधि करिब २ हजार १ सय ३० हुने भएका छन् ।
अहिलेसम्म १८५७ प्रतिनिधि छानिइसकेका छन् । त्यसबाहेक केन्द्रीय निकायबाट २ सय ५६ जना प्रतिनिधि स्वत चयन भइसके । वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुवैले आफ्नो पक्षमा बढी प्रतिनिधि आएको दाबी गरेको छ ।
नेता ओलीको सचिवालयले दैनिक नेपाललाई उपलब्ध गराएको तथ्यांकमा ओलीको पक्षमा १ हजार ४ सय ३५ जना प्रतिनिधि विजयी भएको दाबी गरिएको छ । बाँकी प्रतिनिधि अध्यक्ष पदका उम्मेदवारमा प्रस्तावित भनिएका वरिष्ठ नेता माधब नेपालको पक्ष र तटस्थ रहेका अध्यक्ष झलनाथ खनालको पक्षका रहेको ओलीको सचिवालयको दाबी छ ।
नेता ओलीको सचिवालय सम्हालिरहेका युवा नेता डा. राजन भट्टराईका अनुसार, अहिलेसम्म निर्वाचन परिणाम आउन बाँकी बाहेक ६८.११ प्रतिशत भन्दा केही बढी प्रतिनिधि नेता ओलीको पक्षमा खुलिसकेका छन् ।
तर, वरिष्ठ नेता नेपालको सचिवालय सम्हालिरहेका युवा नेता योगेश भट्टराई यो कुरा मान्न तयार छैनन् । ‘हामी मसिनो ढंगबाट कुन जिल्लाबाट, कुन–कुन जनवर्गीय संगठनबाट को–को नेपालको पक्षमा, को–को ओलीको पक्षमा भनेर प्रतिनिधिलाई नै विभाजित गर्ने पक्षमा छैनौँ । तर, सरसर्ती हेर्दा ठूला अञ्चल जस्तैः कोशी, नारायणी, लुम्विनी, उपत्यका, बागमती, जनकपुर, महाकाली लगायतका अञ्चलमा हामीले सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ । अन्य अञ्चलमा पनि हामी बलियो देखिएका छौँ ।,’ नेता भट्टराईले दैनिक नेपालसँग भने, ‘मेची, गण्डकी, धौलागिरीलगायतका केही अञ्चलमा भने कडा प्रतिष्पर्धा छ । भारत प्रवासमा हाम्रो विचार समूहका करिब ९० प्रतिशत प्रतिनिधि आउने अनुमान छ । अन्य प्रवासमा पनि बहुमत छ । केन्द्रीय सम्पर्क कमिटी लगायतमा पनि उत्साहजनक रहको छ ।’
नेता भट्टराईले ओली पक्ष एकदमै निराश, हतोत्साही र विचलित भएको दाबी समेत गरेका छन् ।
बुधबार रातिसम्मको परिणाम अनुसार कुल १८५७ प्रतिनिधि छानिएकोमा आफ्नो पक्षमा १११४ र केपी ओलीका ७२३ प्रतिनिधि छानिएको माधव नेपाल पक्षले दाबी गरेको छ ।
माधव पक्षले मेचीमा आफ्नो पक्षमा ५८ र ओलीको पक्षमा ५६ प्रतिनिधि चुनिएको दाबी गरिएको छ । यस्तै, कोशीमा ११४ र ओली पक्षमा ४० प्रतिनिधि, सगरमाथामा नेपाल पक्ष ६३ र ओली पक्ष २६, जनकपुर अञ्चलमा नेपाल पक्ष ६६ र ओली पक्ष १२, नारायणीमा ६६ / १२, वागमतीमा ७८ /५३, उपत्यकामा ६७ / ३१, लुम्बिनीमा ९६ /८९, गण्डकीमा ५५/ ७३, धौलागिरीमा २८ / १९, राप्तिमा ३१ / ३८, भेरीमा ४९ / ५१, कर्णालीमा ३५ / १६, सेतीमा ६२ / ४३ र महाकालीमा ३९ / २२ को अनुपातमा प्रतिनिधि छानिएको माधव नेपाल पक्षको सचिवालयले जनाएको छ । गण्डकी, राप्ती र भेरीमा बाहेक अन्य सबै ठाउँमा आफ्नो बहुमत रहेको नेपाल पक्षको दाबी छ ।
यता, ओली पक्षले भने नेपाल पक्षका अभियन्ताहरु स्वयम् अब अध्यक्षमा नेपाललाई उम्मेदवार बनाउन नहुने बरु ओलीलाई सर्बसम्मत हुन नदिन दोस्रो तेस्रो तहका नेता भएपनि उठाउनुपर्ने आन्तरिक बहसमा जुटेको आरोप लगाएको छ ।
‘बुधबार भएको प्रतिनिधि निर्वाचनमा केही जिल्लामा अपेक्षाकृत केही परिणाममा थोरै राम्रो देखिएर तत्काल उत्साही नेपाल पक्ष २ हजार १ सय भन्दा केही बढीको परिणाम आइसकेपछि महाधिवेशनसम्म पुग्दा अहिलेको परिणाम अझै घट्न सक्ने आँकलन गर्र्दै अब कसरी अघि बढ्ने भनेर आन्तरिक समीक्षामा जुटेको पाइयो ।’ ओलीको सचिवालयले भनेको छ ।
एमालेको प्रतिनिधि चयन करिब करिब समाप्त भएको छ । काठमाडौं क्षेत्र नं २ बाट ५, नौ अञ्चल कमिटिका ९, रोल्पाको ३, दाङ क्षेत्र नं १ को ४ गरी मात्र २१ जना प्रतिनिधिको अन्तिम परिणाम आउन बाँकी रहेको बताइएको छ ।













प्रतिक्रिया