५ कार्तिक २०८३, बिहिबार

विशाल ग्रुपले यसरी ठग्दैछ उपभोक्तालाई, ८० रुपियाँ पर्ने विस्कुट १५० मा विक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

digestive-250gकास्की, २१ असोज । विस्कुट उही, उत्पादक एउटै तर मूल्य झण्डै दोव्वर । पत्याउनै गाह्रो पर्छ तर यथार्थ भने यस्तै छ । भारतको युनाइटेड विस्कुट प्रालि हिमाञ्चल प्रदेशले उत्पादन गरेको म्याक भाइटिस् डाइजेष्टिभ व्राण्डको विस्कुट एक पुरियाको खुद्रा मूल्य भारतमा भारु ५० अर्थात नेपाली ८० रुपियाँ पर्ने समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

त्यही विस्कुट नेपाल छिरेपछि १५० रुपैयाँ प्रति पुरियामा विक्री गर्ने गरि खुद्रा मूल्य प्रिन्ट गरेर पठाइएपछि उपभोक्ताहरुले ठगिएको महशुस गरेका छन् । पोखरा मालेपाटनका राजु सुवेदीले डाइजेष्टिभ विस्कुट पोखराको वजारमा किन्दा १५० रुपैयाँ तिरेपछि आफू ठगिएको वताए ।

भारतमा विक्री हुने विस्कुट र नेपालमा विक्री हुने विस्कुटको खोल र भित्रको विस्कुटमा कुनै अन्तर छैन मुल्य वाहेक । भारतमा भारु ५० रुपैयाँ पर्ने विस्कुट नेपालमा १५० रुपैयाँको मूल्य राखेर विक्री भइरहेको तथ्य फेला परेको छ ।

प्रमाण सहित फेला पारेपछि विस्कुट उत्पादक कम्पनी र नेपाल स्थित आधिकारिक विक्रेता कम्पनी विशाल ग्रुपबीच अवैध साँठगाँठ भएको प्रमाणित हुन्छ ।

भारतको दिल्लीमा उद्योग दर्ता रहि विश्वभर ख्याती कमाएको म्याक भाइटिस डाइजेष्टिभ व्राण्डका विस्कुटले नेपाल सप्लाई गर्ने विस्कुटमा झण्डै दोव्वर मूल्य प्रिन्ट गरेर पठाउने धन्दामा विशाल ग्रुप नै जिम्मेवार देखिएको छ ।

भारतमा उत्पादित अधिकांस वस्तुको मुल्यमा नै नेपालमा सामान खरिद विक्री हुँदै आएको पाइन्छ । तर, उक्त विस्कुटमा प्रति पुरिया ७० रुपैयाँ वढी मुल्य प्रिन्ट गरिनुलाई रहस्यमय रुपमा लिन सकिन्छ ।

नेपालमा म्याक डाइजेष्टिभ विस्कुट आयात कर्ता विशाल ग्रुप काठमाडौंको आग्रहमा झण्डै दोवर मुल्य राख्न लगाइएको स्रँेतको दावी छ । भारतमा उत्पादित वस्तुमा नेपाली मूल्य  राख्न नपाइने र राख्नै परेमा नेपाल सरकारको स्वीकृती लिनु पर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला वताउँछन् ।

सामान्यतया: कम्पनीले तोकेको मुल्य सर्वमान्य हुन्छ । विस्कुट उत्पादक कम्पनीले आफ्नो वेभसाइटमा पनि उक्त विस्कुटको मुल्य भारु ५० तोकेको छ ।

गुगल सर्च मार्फत सन्सारभरका नागरिकले थाहा पाएको यो मूल्य छिमेकी राष्ट्र नेपालमा कसरी १५० तोकियो ? यो ठगीको चरम नमुना हो । कम्पनीले तोकेको मूल्यमा २० प्रतिशत भन्दा वढी नाफा लिनु नेपालको विद्यमान कानुनले कालोवजारी गरेको  ठहर्छ र सोही अनुसार सजाय हुने प्रावधान छ ।

यूनाइटेड विस्कुट प्रालि हिमाञ्चल भारत र विशाल ग्रुप काठमाडौं नेपालले नेपालका लागि भित्र्याएको विस्कुटमा झण्डै ९० प्रतिशत वढि मूल्य तोकेर लेवलमा प्रिन्ट समेत गरि नेपाली उपभोक्तालाई ठग्न सफल भएका छन् । गुगलमा राखेको मूल्य नै उत्पादक कम्पनीको आधिकारिक मूल्य हुने विज्ञहरु दावी गर्छन् ।

तर, नेपालमा भित्र्याइएको विस्कुटको मूल्य कृतिम र गैह्रकानुनी रहेकोले कारवाही आवश्यक रहेको उनीहरु बताउँछन् । कास्कीका खाद्य निरीक्षक शिवजी वरालले पनि २० प्रतिशत भन्दा वढि मूल्य लिनु कालोवजारी भएको वताए ।

यसमा म्याक डाइजेष्टिभ विस्कुट उत्पादक र आयातकर्ता विशाल ग्रुप काठमाडौंमध्ये को जिम्मेवार हो छानवीन गरिनुपर्छ । विशाल ग्रुप पोखराका प्रतिनिधि राजेन्द्र वराल विशाल ग्रुपले नेपालका लागि वढी मूल्य तोक्न लगाए अनुसार एमआरपी प्रिन्ट गर्न लगाएको स्वीकार गर्छन् ।

भारतमा उत्पादित केही चिजमा मात्र यस्ता फरक मूल्य तोकिने गरेको पाइएको छ । प्रशासनले तत्काल छानविन गरी गैह्रकानुनी कारोवार गर्नेमाथि कडा कारवाही गरि उपभोक्तालाई न्याय दिन जरुरी देखिएको छ ।