काठमाडौं, २१ असोज । प्रहरी देशमा गुण्डागर्दी निर्मूल पार्न लागिपरेको छ । तर, अदालतले भने गुण्डाहरुलाई प्रोत्साहन गरिरहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
गुण्डागर्दीका एक नाइकेलाई हालै अदालतले सफाई दिएको छ । पूर्व प्रधानसेनापती छत्रमानसिंह गुरुङका छोरा र व्यवसायी राजन श्रेष्ठलाई खुकुरी हानेको घटनामा ललितपुर जिल्ला अदालतले काभ्रेली समूहका गुण्डा नाइके दावा लामालाई सफाई दिएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र खरेलले उनलाई सफाई दिएका हुन् । दावासहित सबै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा सफाई दिएपछि प्रहरी र सरकारी वकिलहरु नै आश्चर्यमा परेका छन् ।
खुकुरी प्रहारको घटनाबाट व्यवसायी श्रेष्ठ तीन दिन कोमामा बसेका थिए । उनलाई गम्भीर चोट लागेको थियो । हत्या गर्ने उदेश्यले उनीमाथि आक्रमण भएको थियो ।
तर न्यायाधीश राजेन्द्र खरेलले सफाई दिएपछि सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने तयारी गरेको छ । ललितपुर जिल्ला अदालतमा न्यायाधीश फेरीएसँगै लामाको समूहले सफाई पाएको हो ।
यसअघि ललितपुर जिल्ला अदालतको प्रमुख न्यायाधीश टेकनारायण कुँवर थिए । उनी पैसामा नबिकेपछि फैसला रोकिएको थियो । खरेल पनि काभ्रेकै भएकाले सेटिङकै आधारमा सफाई दिइएको चर्चा अदालतमा छ ।
त्यसविरुद्ध न्यायपरिषद्मा समेत उजुरी परिसकेको स्रोत बताउँछ । गुण्डा नाइके दावाविरुद्ध काठमाडौं जिल्ला अदालतमा लागूऔषध मुद्दा समेत छ । उक्त मुद्दा मिलाउन काभ्रेकै नेपाली कांग्रेसका सभासद् तिर्थ लामाको समूह लागिपरेको छ ।















प्रतिक्रिया