५ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी कठोर बनाउन भारतको यस्तो रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flagकाठमाडौं । मधेस आन्दोलले असुरक्षा बढाएको बहानामा भारतले १३ दिनदेखि लगाउँदै आएको नाकाबन्दी अझै खुलेको छैन ।

सबै नाका खुलाएर आपूर्ति अवरोध हटाउट भारतीय विदेश मन्त्रालयले मातहत भन्सार कार्यालयलाई निर्देशन दिएको भनिए पनि नाकामा भारतीय अधिकारीको व्यवहार झन् कठोर देखिँदै गएको छ । वीरगन्ज नाका पूर्ण रुपमै ठप्प छ भने खुलेका केही नाकाले पनि विभिन्न बहानामा अलमलाउँदै नेपाली ट्यांकर रोक्दै आएका छन् । भन्सारमा सुरक्षा अधिकारीले एउटा ट्यांकर जाँच्न कम्तीमा एक घन्टा लगाउँदै आएका छन् । सोमबार विभिन्न नाकाबाट पेट्रोलियम पदार्थका ४५ ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार रातिसम्म २७ वटा मात्र ट्यांकर छाडेको छ । सोमबारभन्दा मंगलबार खाद्यान्न, कपडा, निर्माण सामग्री, अटोमोबाइल्सलगायत सामग्री बोकेर नेपाल भित्रिएका गाडीको संख्यासमेत कम रहेको नेपाली भन्सार अधिकारीको भनाइ छ ।

सोमबार काँकडभिट्टा, जोगबनी, रुपैडिहा र गौरीफन्टा नाकाबाट १ सय ९० वटा मालवाहक गाडी भित्रिएकामा मंगलबार १३४ वटा मात्र यता आउन पाए । पूर्वी नेपालको काँकडभिट्टा, नेपालगन्जको रुपैडिहा र कैलालीको गौरीफन्टाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्रिएनन् । सोमबार जोगबनी नाकाबाट ३२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार विभिन्न बहाना बनाउँदै एउटा मात्र छाडेको छ । बेलहिया नाकामा मंगलबार भारतीय भूमिबाट नेपालतर्फ खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उक्त नाकाबाट मालवाहक गाडी तथा इन्धन ट्यांकर आउन सकेनन् । राजधानीमा इन्धन तथा दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि प्रमुख मानिएको वीरगन्जको रक्सौल नाकाबाट १३ दिनदेखि कुनै पनि मालवाहक गाडी भित्रिएका छैनन् ।

आन्दोलनकारीको धर्ना र अवरोधबिनै ठप्प पूर्वी नाका भने मंगलबार केही खुकुलो भयो । अन्य सबै सामान पठाइरहे पनि इन्धन आउन पूरै रोक लागेको काँकडभिट्टा नाकाबाट बल्ल इन्धन भित्रिन थालेको छ । मंगलबार पेट्रोलियम पदार्थ बोकेका १० वटा ट्यांकर उक्त नाकाबाट नेपाल भित्रिएका छन् । सोमबार राति १० बजे इन्धन बोकेका ६ ट्यांकर नेपाल भित्रिन दिएको भारतले मंगलबार थप ३० ट्यांकरमा तेल भरिदिएको थियो । नाकाबन्दी खोलेको बताएको दुई दिनसम्म पनि पूर्वी नाका काँकडभिट्टाबाट इन्धन आउन सकेको थिएन । ‘भारतीय आयल कर्पोरेसनले मंगलबार ३० ट्यांकरमा सबैखाले इन्धन भरिदिएको छ,’ मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले मंगलबार भने, ‘ती ट्यांकर बाटामा छन् ।

मंगलबार राति वा बुधबार बिहानसम्म काँकडभिट्टा प्रवेश गर्ने सम्भावना छ ।’ काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतीय आयल कर्पोरेसनको सिलिगुडीस्थित डिपोमा १० दिनभन्दा लामो समयदेखि पालो कुरेर बसेका नेपालबाट पुगेका ट्यांकरमा तेल भरिएको छ । ती साधन आइपुग्न केही समय लाग्न सक्ने उनले बताए । आउँदै गरेका ट्यांकर पूर्वमै राख्ने कि काठमाडौं पठाउने भन्नेबारे छलफल जारी रहेको नेपाल आयल निगम स्रोतले जनाएको छ । नेपालतर्फ समस्या नभए पनि छाडेन जोगवनी नाकाबाट आयात–निर्यात सहज बनाउनेबारे नेपाल–भारत दुवै पक्षका स्थानीय अधिकारी र सुरक्षा निकायका प्रमुखबीचको सहमतिविपरीत भारतीय भन्सारले पेट्रोलियमका ट्यांकर तथा ग्यासका बुलेट आयातको अवरोध कायमै राखेको छ । नेपाल आउने सवारीमा अवरोध नगर्ने र आउन सहज बनाउने सहमति आइतबारको दुवै पक्षको बैठकले गरेको थियो । अाजकाे नागरिक दैनिकमा खबर छ ।