२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशनः झलनाथ र तटस्थको जसलाई समर्थन, उस्कै जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal

काठमाडौँ, ११ असार । नेकपा एमालेको नवौं महाधिवेशन शुरु हुन ७ दिन मात्र बाँकी रहेका बेला अहिले प्रतिनिधिको जोडघटाउ शुरु भएको छ ।

आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रुपमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबैले आ–आफ्नो पक्षमा दुइतिहाई प्रतिनिधि रहेका तथ्याङ्क सार्वजनिक गरेका छन् ।

वुधवारसम्ममा मुलुकभर प्रतिनिधि छनोट कार्य एमालेले करिब–करिब सकाएको छ । आगामी महाधिवेशनमा सहभागी हुने १९ सय प्रतिनिध मध्ये दुबै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरे पनि अहिलेसम्मको प्रतिनिधि छनोटलाई सरसर्ती हेर्दा त्यस्तो देखिदैँन । महत्वपूर्ण मानिएका झापा मोरङ, सुनसरी, रुपन्देही जस्ता जिल्लामा कतै ओली पक्षको पल्लाभारी त कतै नेपाल पक्षको पल्लाभारी देखिएको छ ।

अध्यक्षका प्रत्यासी नेपालको जिल्ला रौतहटमा नेपाल पक्षका अधिकांश प्रतिनिधि छनोट भएको दाबी नेपालको सचिवालयले गरेको छ । यता ओलीको जिल्ला झापाबाट ओलीकै पक्षका बुहमत प्रतिनिधि छनोट भएको ओलीको सचिवालयले दाबी गरेको छ । यसरी हेर्दा दुबै जना नेता आ–आफ्नो जिल्लामा बलियो देखिएका छन् ।

त्यस्तै, जिफन्ट, अखिल नेपाल महिला संघ, किसान महासंघ लगायतमा ओलीको पकड वलियो देखिएको छ भने पेशागत विशेष जिल्ला कमिटी, खेलकुद महासंघ, अनेरास्ववियुलगयतमा नेपाल पक्ष बलियो देखिएको छ । पेशागतमा नेपाल समूहले २७ मा सबै प्रतिनिधि आफ्नो पक्षका निर्वाचित भएको दाबी गरेको छ । यता ओली पक्षले पनि अनेम संघ, किसान महासंघलगायतमा सबै प्रतिनिधि आफ्नो पक्षका भएको दाबी गरको छ ।

विद्यार्थी विशेष जिल्ला कमिटीबाट ओली पक्षका माधव ढुंगेल र नेपाल पक्षकी रामकुमारी झाँक्री निर्वाचित भएका अनेरास्ववियुबाट ३ जना नेपाल पक्षका र २ जना ओली पक्षका निर्वाचित भएको बुझिएको छ । बामदेव गौतम अध्यक्ष रहेको किसान महासंघबाट २३ जना प्रतिनिधि छन् ।

आदिवासी जनजाति महासंघबाट ३० मध्ये २२ जना ओली पक्षका निर्वाचित भएको ओलीको सचिवालयको दाबी छ । महासंघको नेतृत्व ओली निकट मानिने पृथ्वीसुब्बा गुरुङले गर्नुभएको छ ।

ट्रेड युनियन महासंघबाट २० मा प्रायः सबै प्रतिनिधि ओली पक्षका आएको र खेलकुद महासंघबाट १६ मा सबै प्रतिनिधि नेपाल पक्षका आएको दावी नेपाल पक्षको छ । मुलुकभरकै प्रतिनिधि छनोटलाई हेर्दा निर्वाचन देशैभरि नेपाल र ओली पक्षबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । बागमती अञ्चल कमिटी अन्तर्गतका ७ ओटा जिल्ललामा केही मतले नेपाल अघि देखिएको बताइएको छ । सिन्धुपाल्चोक र दोलखा जिल्लामा नेपाल पक्ष अघि देखिएको बताइएको छ । रामेछापबाट ओली पक्ष अघि देखिएको छ ।

धादिङ, नुवाकोट र रसुवाको भने परिणाम यस अघि नै आएको छ । उपत्यकामा पनि ललितपुरमा नेपाल र भक्तपुरमा ओली अगाडि देखिएका छन् । काठमाडौँमा पनि ओलीकै अग्रता देखिएको छ । यसरी प्रतिनिधि छनोटको प्रक्रियालाई हेर्दा एमाले अध्यक्ष झलनाथ खनाल र तटस्थ प्रतिनिधिले जसलाई समर्थन गर्छन्, ती व्यक्ति नै अध्यक्ष बन्ने चर्चा अहिले शुरु भएको छ । तटस्थ प्रतिनिधि अधिकांश खनालको पक्षमा रहेका बुझिएको छ । उनीहरुले खनालले जता समर्थन गर्छन त्यतै समर्थन गर्ने सम्भावना छ ।