पर्यटनको क्षेत्रको समग्र विकास, प्रवद्र्धन र संरक्षण गर्ने संस्था नेपाल पर्यटन बोर्ड भ्रष्टाचारको दलदलमा फसिरहेको बेला पर्यटन क्षेत्रका कामहरु अगाडी बढ्न सकिरहेको थिएन । मनलागी निर्णय गरी रकम हिनामिना गरी बोर्डलाई टाट फर्काउने काम भइरहेको थियो । त्यो पनि करोडौंको बजेट, त्यहाँ छ । त्यसले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा काम गर्नु पर्ने हो । तर राजनीतिक पार्टीका कार्यकर्तालाई केही पैसा दिएर र केही पैसा खाएर मनलागी चलिरहेको थियो ।
मन्त्रालयकै जति बजेट भएको बोर्डको रवैया आम व्यवसायीलाई मन परिरहेको थिएन । सबैको मन मनमा बोर्डको निर्णय र कार्यशैली घृणा थियो तर त्यसलाई संस्थागत रुपमा बाहिर ल्याउने र किनारा लगाउने उपयुक्त योजना बनिसकेको थिएन । त्यतिबेला नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संस्थागत आवाजहरु बुलन्द गर्दै आएको थियो । यसरी अघि बढ्नु पर्छ भनेर हामीले होमवर्क गर्दै थियौं । त्यहि समयमा अरु समुहका साथीहरुले हामी कहाँ आएर पहिलेका मनमुटाव छाडौं । यहाँ भ्रष्टाचार भएको कुरा सबैलाई देखाईदिएर त्यसलाई निरुत्साहित गर्न सकिन्छ । यसकामले अन्य क्षेत्रको लागि पनि पाठ हुन्छ । शुसासनमा काम हुन्छ भन्ने कुरा सबैको रह्यो । यो मुद्दा हामी सबै पर्यटन व्यवसायीको हो भन्ने बुझाई भएपछि सबै संगठनहरु एकठाउँमा भेला हुने अवस्था आयो । हामीले जे गर्ने प्रयत्नमा थियौं पर्यटन क्षेत्रका सबै संघ संगठन मिलेर आन्दोलन मोर्चाको रुपमा ज्वाइन्ट टुरिजमको अडिनेशन कमिटी (जेटइसिसिको) निर्माण गर्यौं । यस्ता पक्षमा हामी जस्ता मान्छेले बोल्नुपर्छ । आन्दोलनको अगुवाई गर्दा पुलिसका बुट र लाठ्ठी समेत खाएको छु । गिरफ्तारमा समेत परेको छु । अन्तमा हाम्रो आन्दोलन सफल भयो । पर्यटनको बोर्डमा भ्रष्टाचार भएको पुष्ठि भयो । अहिले अदालतमा मुद्धा दायर भएर विचाराधिन अवस्थामा छ ।
टानमा पनि यस्तै भ्रष्टार बढेको छ । संस्थागत भन्दा पनि व्यक्तिगत मनोमानीका साथ आफ्नो राजनीतिक र सामाजिक छबिलाई उँचो देखाउन टानको रकम दुरुपयोग गरिएको थुप्रै उदाहरण छन् । यसको विरोधमा हामी आवाज उठाउँदै आएका छौं । स्वतन्त्र व्यवसायी, सिनियर व्यवसायीले टानको नेतृत्व लिनुपर्छ भनेर अघि सार्नु भएको छ । स्वतन्त्र व्यवसायी, शेर्पा समुदायका व्यवसायी, एमाओवादी निकट व्यवसायीहरु संग मिलेर अघि बढेका छौं ।
राजनीति र निजी स्वार्थमा प्रयोग भईरहेको टिम्सको रकम सहि ढंगले प्रयोग गर्ने मेरो मुख्य ऐजेण्डा हुनेछ । टिम्सको रकमलाई कसरी व्यवस्थित गर्ने भन्दा पुराना, नयाँ र योङ सबै व्यवसायीलाई राखेर सके सम्म सर्वसम्मत, भएन भने धेरैका आवाजलाई समेटेर त्यसलाई व्यवस्थित गर्ने छु । भूकम्पपछि पर्यटन व्यवसाय ध्वस्त भएको छ । त्यसलाई पूनर्निमाण गर्न राज्य, व्यवसायी, स्थानीय जनता सबैलाई लगाएर कसरी व्यवस्थित गर्न सकिन्छ र छिटो भन्दा छिटो पुनर्निर्माण गर्नु पनि मेरा पहिलो प्राथमिकताको काम हुने छ ।
पर्वतीय पर्यटनमा बेला बोलामा एभिलियन्ज आउँछ । रेस्क्यु टाईममा नहुने, वातावरणीय कुराहरु समयमै नहुने यस्ता समस्या रहेका छन् । यसलाई छिटो भन्दा छिटो ध्यान जानुपर्छ । दिन प्रतिदिन यस बारेमा विश्व सामु नकारात्मक कुराहरु गईरहेको यसमा ध्यान दिनेछु । सबै मजदुर र व्यवसायीलाई उद्योगी बनाउनेमा मेरो नेतृत्व हुने छ । नेतृत्व लिनेले सबै व्यवसायीको हित हुने काम गर्नुपर्छ, यसमा म कटिवद्ध छु । सरकार संग पुलको काम गर्नु पर्छ । सरकारलाई कन्भिन्स गरेर व्यवसायी, मुलुकको हित हुने काम गर्ने, अर्थतन्त्रको विकासमा लाग्ने लगायतका काम मेरो प्रमुख एजेण्डा हुने छ ।
(आगामी असोज २८ गते हुन लागेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्षको प्रत्यासी चन्द्र रिजालसंगको कुराकानीमा आधारित ।)















प्रतिक्रिया