काठमाडौं । रातारात धनी हुनका लागि राजधानीमा धेरै युवाहरु अपराधको दुनियाँमा लागेर बिग्रने गरेका छन् । बिना दुःख धनी हुन चाहने युवतीहरुको पनि सहरमा कमी छैन । आफ्नो सोख पूरा गर्ने सपनामा युवतीहरु गलत संगतका कारण बिग्रने गरेका छन् ।
स्कुटर चढ्ने सपनाको पछि लाग्दा ललितपुरमा एक युवती प्रहरी हिरासतमा पुगेकी छन् । ललितपुरकी २१ वर्षीय रिना महर्जनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।
प्रहरीका अनुसार ठगीमा उनको प्रत्यक्ष संलग्नता छैन । तर, स्कुटर चढ्ने र राम्रो लगाउने लोभमा फस्दा उनी यतिबेला पक्राउ परेकी हुन् । पैसाको लोभमा उनी एक नामुद ठगको संगतमा परिन् । ती ठगले उनलाई स्कुटर पनि किनिदिए । महँगा कपडाहरु पनि किनिदिए । तर, त्यसको पछाडि स्वार्थ थियो । उनै युवतीलाई प्रयोग गरेर लाखौं ठगी गर्न सफल भए ।
ललितपुर प्रहरी स्रोतका अनुसार युवतीलाई राजस्व अनुसन्धान विभागको अधिकृतको कार्ड बनाइदिएका थिए । त्यही कार्ड देखाएर युवतीले आफ्ना साथीर्लाइ सरकारी जागिर खाएको धाक लगाउन थालिन् । उनका साथीहरुले पनि आफूहरुलाई जागिर लगाइदिन आग्रह गरे ।
त्यसका लागि उनले तिनै ठगलाई भेटाइनदिइन् । विभिन्न बहानामा ती व्यक्तिले सरकारी जागिर लगाइदिने भन्दै एकै व्यक्तिबाट २५ लाख रुपैयाँसम्म ठगी गरे । त्यसरी विभिन्न बहानामा एक दर्जनभन्दा धेरै व्यक्तिलाई ठगी गरेको खुलेको आजको दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया