काठमाडौं, १४ असोज । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित डिभी/पिआरधारीलाई कारबाही गरेर निकै चर्चित छन् । डिभी/पिआरधारीलाई कारबाही गरे पनि प्रशासनका ठूला बिकृतीहरु भने हटाउन उनले नसकेको समाचार यूनाइटेड पोष्ट सप्ताहिकले छापेको छ ।
बाहिर निकै लोकप्रिय भएपनि भित्री रुपमा भने उनको छवी राम्रो छैन । किनकी मन्त्रालयमा उनको भन्दा धेरै एमाले निकट कर्मचारी ट्रेड यूनियनको हालीमुहाली छ ।
एमाले निकट ट्रेड यूनियन नेपाल निजामती कर्मचारी संगठनका नेताहरुले सामान्य प्रशासन मन्त्रालय चलाउँदै आएका छन् । प्रशासनमा संगठनका नेताहरुको मनोमानी छ ।
निजामती ऐनअनुसार सरुवा भएको ३५ दिनभित्र कोही कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर भएन भने उसलाई बर्खास्त गर्न सकिन्छ ।
तर, संगठनका अध्यक्ष पुण्य ढकाललाई यो नियम लागू हुँदैन । दुई वर्षअघि नै उनको सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन तथा सरुवा भएको थियो ।
तर, सामान्य प्रशासन मन्त्रालयलाई जानकारी नदिई गृह मन्त्रालयमै मस्ती गर्दै आएका छन् । डिएफआईडीको सहयोगमा संचालन हुँदै आएको नेशनल इमर्जेन्सी सेन्टरमा उनी कार्यरत छन् । केन्द्रमा धेरै भत्ता हुने भएकाले उनले त्यहा छाड्न नसकेका छन् । २४(घ) अनुसार स्वत: बढुवा भएका अधिकृत हुन् ।
निजामती कर्मचारी नेताहरुलाई होलटाइमरका रुपमा जागिर खाने सुविधा समेत छ । तर भत्ताकै लोभमा उनले केन्द्र छाड्न सकेका छैनन् ।
नियम लत्याएर उनी त्यसरी केन्द्रमा कार्यरत रहँदा पनि मन्त्री पण्डितले कारबाही गर्न सकेका छैनन् ।
त्यस्तै संगठनका महासचिव मोहन घिमिरे मन्त्री पण्डितका बिश्वासपात्र हुन् । घिमिरेकै सिफारीसमा मन्त्री पण्डितले सरुवाको निर्णय गर्दै आएको स्रोत बताउँछ ।
बाहिर हिरो मन्त्रीका रुपमा चर्चा भएपछि सामान्य प्रशासन मन्त्रालयमा धेरै विकृतीहरु रहेको कर्मचारीहरु बताउँछन् ।















प्रतिक्रिया