काठमाडौं, १३ असोज । सरकारले मुलुकभित्रका अस्पतालमा भाडाका कोखमार्फत सन्तानसुख लिने सुविधामा रोक लगाइसकेको छ ।
राजधानीकै एक रिसोर्टमा भने अहिले पनि सरोगेसी परिवारका चहलपहल देखिएको समाचार नागरिक दैनिकले छापेको छ ।
सहरबाट केही टाढा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा विदेशी जोडी सरोगेसी शिशु बोकेर यताउति डुलिरहेका देखिन्छन्।
दुई सातादेखि अस्ट्रेलियन नागरिकको समूह यही रिसोर्टको अपार्टमेन्टमा सरोगेसी बच्चासहित छन्। तीन विदेशी पुरुष घाम लागेपछि दिउँसोको समयमा कंगारु शैलीमा अगाडि बच्चा बोकेर अपार्टमेन्ट बाहिर निस्कन्छन् । दुईदेखि तीन साताका नवजात शिशु बोकेर उनीहरु होटल प्रांगणमा घाम ताप्दै टहलिन्छन् । शिशुलाई घाम तताउँछन् ।
दिउँसो उनीहरु शिशुलाई सेतो मलमल कपडाले सजिलै नदेखिने गरी छोपेर घाममै बस्छन् । शिशु बोकेका विदेशी पुरुष आआफ्ना बच्चालाई घरि खेलाउूछन् त घरि एकअर्काको अनुहार हेरेर मुस्कुराउँछन् । केहीबेरपछि शिशुलाई लिएर उनीहरु फेरि अपार्टमेन्टमै पुग्छन् । उनीहरु बच्चासहित घाममा बसुन्जेल साथमा एक महिला पनि हुन्छिन् ।
अपार्टमेन्टमा बेडरुम, किचेन र लिभिङ रुम छ । बेलुका चमकदार बत्ती बलिरहेको हुन्छ । बच्चालाई आवश्यक पर्ने खानेकुरालगायत सबैथोक त्यही अपार्टमेन्टमा तयार हुन्छ । सरोगेसी बच्चा हुर्काउने काममा उनीहरुलाई दिउँसो आउने तिनै महिलाले सघाउने गरेकी छन् ।















प्रतिक्रिया