१ कार्तिक २०८३, शनिबार

लुम्बिनी औद्योगिक कोरिडोर ‘मर्नु न बाच्नु’को स्थितिमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विवेक विश्वकर्मा
रुपन्देही, ११ असोज । भैरहवा–लुम्बिनी सडक खण्डमा रहेका डेढ दर्जन बढी उद्योगहरुमा अहिले डरलाग्दो अशान्ति छाएको छ ।

दैनिक भारी मेशीनहरुको आवाज तथा सवारीको चाप रहने लुम्बिनी औद्योगिक कोरिडोरमा छाएको मौनताको कारण ब्यवसायी मात्र हैन स्थानीयहरु समेत चिन्तित देखिन्छन । उद्योग सञ्चालनको लागि स्थानीय प्रशासन र आन्दोलनरत पक्ष दुवैले देखाएको उदासिनताका कारण ब्यावसायीहरु ‘मर्नु न बाच्नु’को स्थितिमा उद्योगी ब्यवसायीहरु रहेका छन् । नेपालको संविधान २०७२ जारी हुनु अगाडिदेखि सीमाकंन, नागरिकता, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा जनप्रतिनिधित्व लगायतका माग राख्दै यस क्षेत्रमा मधेशी दलको आन्दोलनका कारण कोरिडोरमा रहेका उद्योगहरु पूर्ण रुपमा ठप्प रहेका छन् ।

४४ दिनदेखि जारी बन्दको कारण औद्योगिक कोरिडोरमा रहेको उद्योगहरु धरासायी र कर्मचारी तथा मजदुरहरु बिस्थापित र पलाउन हुने अवस्था आउँदा समेत उद्योग सञ्चालन तर्फ सरोकारवाला निकायहरु गम्भीर नभएको व्यवसायीहरुको आरोप रहेको छ ।

लामो समयदेखि बन्द रहेको उद्योगहरु सञ्चालन गर्ने वातावरण मिलाई दिन ५ सूत्रीय माग सहित उद्योगी ब्यापारीकोहरुको छाता संगठन नेपाल उद्योग बाणीज्य महासंघले समेत सरोकारवालाहरुलाई गुहारी सकेको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले भैरहवामा भदौ २३ गते मधेसी दलका शीर्ष नेताहरुलाई उद्योग खोल्ने वातावरण मिलाई दिन भन्दै ज्ञापन पत्र समेत बुझाई सकेका छन् । उद्योग नखोले पुँजी पलायनको समेत उनले सम्भावना देखाए ।

Lumbani-karidorअध्यक्ष मुरारकाले ज्ञापनपत्र बुझाएको भोलिपल्ट देखी नै उद्योगहरुमा श्रृंखलाबद्ध रुपमा आक्रमण शुरु भयो । मुरारका सञ्चालक रहेको अर्घाखाची सिमेन्टबाट शुरु गरि रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, गोयन्का स्टिल लगायत प्राय सबै उद्योगमा आन्दोलनकारीले धेरै थारै क्षति पुर्याए ।

भदौ २९ गते बेथरीमा भएको नरसंहारले उद्योगी तथा मजदुर सबै पलायन हुने अवश्था आयो । बेथरीको घटनापछि उद्योगमा भएका मजदुरहरु केही गरि पनि रोक्न नसकेको उद्योगीहरुले बताए ।

आन्दोलनकारी सित उद्योगको लागी स्कर्टिङ्ग नगर्ने सहमति बिपरीत प्रशासनले बिभिन्न उद्योगको लागी चाहिने कच्चा पदार्थ बोकेको मालबाहक ट्रक लैजान खोज्दा बेथरीमा नहुने घटना भएको आन्दोलनकारी पक्षको भनाई छ ।

उद्यागीहरुको दबावमा परि स्कर्टिङ्ग गरिएको हल्ला सरासर गलत रहेको उद्यागीहरु बताउछन । “हामी त स्थानियहरुको सहमति भए पछि नै उद्योग सञ्चालन गर्ने मनस्थितिमा थियौ, सरकारी दबावमा प्रशासनले उद्योग सञ्चालन गर्न खोज्दा यस्तो घटना भयो” नाम नबताउने शर्तमा एक उद्योगीले बताए ।

सिमेन्ट उद्योगका लागी प्रशासनले स्कर्टिङ्ग गरेको बताईरहेको अवश्थामा अहिले पनि बिभिन्न उद्योगहरुमा सैकडौ ट्रकहरु फसिरहेका छन । जगदम्बा सिमेन्ट उद्योगमा मात्र अहिले ३३ वटा ट्रक रहेको उद्योगमा महा प्रवन्धक बिदुर ढुङ्गानाले बताए । “स्कर्टिङ्ग गरेको दिन हाम्रो कुनै ट्रक बाहिर गएको छैन” महा प्रवन्धक ढुङ्गानाले भने । यसै गरि लुम्बिनी कोरिडोरमा रहेका अन्य उद्योगहरुमा समेत ट्रकहरु बन्दको मारमा परि थुनिएर बसिरहेका छन । बृज सिमेन्ट प्रालीमा १२ वटा, अर्घाखाची सिमेन्ट उद्योगमा ८ वटा ट्रक रहेको सम्बन्धित उद्योगमा कर्मचारीहरु बताए ।

लामो समयदेखी उद्योगमा फसेर रहेका यी ट्रकहरुलाई त्यहाबाट निकाल्न कसैले पहल नगरेको ट्रक मजदुरहरुको गुनासो छ । खाने बस्ने ठेगान नभएको र घरमा आफन्त पनि चिन्तित भएको उनिहरुले बताए ।

उद्योगमा रोकिएर रहेको ट्रक मजदुर मात्र हैन उद्योगहरुमा काम गर्ने हजारौ मजदुर समेत बिस्थापित हुने अवश्था आएको छ । लुम्बिनी औद्योगिक कोरिडोरमा काम गर्ने कर्मचारी मात्र नेपाली रहेका छन । अधिकांश मजदुर र प्राविधिक काम गर्ने भारतीय रहेका छन । २९ गते बेथरीमा भएको घटनापछि भारतका प्राय सबै मजदुर तथा कर्मचारीहरु उद्योगबाट भागेर भारत तर्फ गएको उद्योगीहरु बताउछन ।

जगदम्बा सिमेन्ट उद्योग प्रालीमा मात्र रहेका ४ सय २४ जना कर्मचारी तथा मजदुरमा अहिले ६/७ जना बाहेक अन्य सबै बिदामा वा भागेर गएको उद्योगका महाप्रवन्धक बिदुर ढुङ्गानाले बताए । लामो समय देखि बन्द हुदा मजदुरहरुले उतै बैकल्पिक पेशाको खोजी गरि अब बन्द खुलेको बेला हिसाब गर्न आउने जानकारी दिएको अर्घाखाची सिमेन्ट प्रालीका महाप्रवन्धक उद्धव बहादुर कार्कीको भनाई छ । अहिले कतिपयलाई उद्योगले आफ्नै खर्चमा होटलको बास दिदा पनि कर्मचारीहरु बस्न नमानेको उद्योगीहरुले गुनासो गरेको छन ।

बन्द खुले पछि पनि उद्योग सञ्चालनमा आउन केही दिन लाग्ने ब्रिज सिमेन्ट का महाप्रवन्धक रबि रञ्जन गुप्ताको भनाई । मजदुर जति सबै भारत गएकोले उनिहरुलाई उद्योगमा आउन समय लाग्ने कारणले उद्योग सञ्चालनमा पनि ढिलाई हुन सक्ने उनले बताए ।

लगातार बन्दको कारण रुपन्देहीमा रहेको लुम्बिनी कोरिडोरमा दैनिक १० करोड बढीको घाटा हुदैछ । अहिले लुम्बिनी कोरिडोरमा रिलायन्स सिमेन्ट उद्योग, गोयन्का सिमेन्ट उद्योग, जगदम्बा सिमेन्ट उद्योग, ब्रिज सिमेन्ट, सिद्धार्थ सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, नेपाल अम्बुजा, अग्नि सिमेन्ट, बिशाल सिमेन्ट र अर्घाखांची सिमेन्ट प्राली गरि ११ वटा सिमेन्ट उद्योग, गोयन्का स्टिल, अम्बे स्टिल, जगदम्बा सिन्थेटिक गरि डेढ दर्जन बढी ठूला उद्योग रहेका छन ।

यी उद्योगहरु मध्ये सिमेन्ट उद्योगमा मात्र एक दिनको बन्दले करिब दैनिक १० करोडको घाटा भई रहेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवालको दावी छ । कोरिडोरमा रहेका सिमेन्ट उद्योगहरुमा दैनिक ५ हजार टन बराबारको सिमेन्ट बाहिर जाने गरेको अग्रवालको भनाई छ । “सिमेन्ट बाहिर जान नसक्दा नै दैनिक करिब १० करोड घाटा त छदैछ त्यस माथी बिभिन्न प्रकारको कर, बिद्युत शुल्क, तलब एवम अन्य खर्चहरुले उद्योग ब्यवसायको मेरुदण्ड नै भाचेको छ । ”

बैशाख १२ गतेको बिनाशकारी भुकम्प पछि मुलुकले निकै ठूलो भौतिक एवम आर्थिक नोक्सानी ब्यहोरेको अवश्थामा पुन लगातारको बन्दले आर्थिक उद्योग ब्यावसाय, यातायात क्षेत्रले अर्बौको क्षति ब्यहोरि रहेको भन्दै उद्योगीहरुबाट असन्तुष्टि ब्यक्त गरिएको छ । बाहिरबाट ल्याएका समानहरु अन्तराष्ट्रिय नाकाहरुमै महिनौ दिन रोकिदा तिर्नुपर्ने बिलम्ब शुल्क कल्पना भन्दा बाहिर गई सकेको उद्योगीहरुको भनाई छ । बस्तुको मोल भन्दा पनि जरिवाना बढेको र करोडौको औद्योगिक कच्चा पदार्थ नष्ट भएको भन्दै उद्योगीहरुले आन्दोलनरत पक्षको ध्यानाकर्षण गराएका छन ।

यसै गरि बन्द हडताल क्षणिक हुने अनुमान गरि रहेको अवश्थामा निजि क्षेत्र, बन्द हडतालको प्रकिृति र बिरोधका कार्यक्रम हेरेपछि उद्योग क्षेत्र निकै त्रसित र हतोत्साही भएको उनको जिकिर रहेको छ । बिगत केही दिन यताका घटनाबाट अन्तराष्ट्रिय जगतमा गएको नकारात्मक संदेशबाट मुलुकभित्र सुरक्षाको अवश्था कमजोर भएको, उद्योग ब्यावसाय बन्द हुने, नया लगानी ठप्प हुने र पूंजि पलायन हुने खतरा उत्पन्न भई मुलुक नै गम्भिर दुर्घटनामा फस्ने खतरा हु्दै गएकोमा नेपाल उद्योग बाणिज्य महासंघले यस अघि नै चिन्ता समेत ब्यक्त गरिसकेको छ ।