१ कार्तिक २०८३, शनिबार

रजनीकान्तको ‘जेलर २’ले तोड्यो ‘धुरून्धर २’को रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हैदाराबाद । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको एक्सन ड्रामा चलचित्र ‘जेलर २’ले बक्स अफिसमा शानदार कीर्तिमान कायम गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।

नेल्सन दिलीपकुमारद्वारा निर्देशित यो चलचित्र अक्टोबर १५ मा प्रदर्शनमा आएको थियो र यसले भारतमा आफ्नो पहिलो दिनमै ५९ करोड ७० लाख रुपैयाँ खुद कमाइ (नेट कलेक्सन) गरेको छ ।

व्यापारसम्बन्धी वेबसाइट ‘सकनिल्क’का अनुसार यस चलचित्रले देशभरका १६ हजार ५९९ शोहरूबाट ७० करोड २५ लाख रुपैयाँ कुल घरेलु कमाइ (ग्रस कलेक्सन) गरेको छ भने विदेशबाट ५५ करोड रुपैयाँ आर्जन गरेको छ । यसरी, प्रदर्शनको पहिलो दिनमै चलचित्रको विश्वव्यापी कमाइ १ अर्ब २५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

‘जेलर २’ले यसै वर्षको जनवरीमा रिलिज भएको ‘धुरन्धर २’को विदेशमा भएको कमाइको रेकर्ड तोडेको छ । ‘धुरन्धर २’ले आफ्नो प्रदर्शनको पहिलो दिन विदेशमा ५२ करोड रुपैयाँ कमाएको थियो भने ‘जेलर २’ले ५५ करोड रुपैयाँ कमाएको छ ।

विश्वभर कुल १ अर्ब २५ करोड २५ लाख रुपैयाँ कमाउँदै यसले रणवीर कपूरको चलचित्र ‘एनिमल’ (जसले विश्वभर ११६ करोड रुपैयाँको ओपनिङ गरेको थियो)को रेकर्डलाई समेत उछिनेको छ । यो चलचित्र हेर्न पहिलो दिन करिब ३७ लाख ४६ हजार ७३४ दर्शक हलमा पुगेका थिए ।

चार भाषामा प्रदर्शन भएको यस चलचित्रको कमाइमा तमिल संस्करण अग्रस्थानमा रह्यो । तमिल संस्करणमा यसले ९,३२६ शोहरूबाट ४३ करोड ३५ लाख रुपैयाँ खुद कमाइ संकलन गर्‍यो, जसमा औसत अकुपेन्सी (दर्शक उपस्थिति) ७०.८ प्रतिशत थियो भने तेलुगु संस्करणमा २ हजार ७९२ शोहरूबाट १२ करोड ५० लाख रुपैयाँ संकलन गर्‍यो । हिन्दी संस्करणमा ४,३७१ शोहरूबाट ३ करोड ५० लाख रुपैयाँ खुद कमाइ गर्दा कन्नड संस्करणमा यसले ११० शोहरूबाट ३५ लाख रुपैयाँ संकलन गरेकाे छ । यी चारै भाषालाई जोड्दा भारतमा चलचित्रको कुल खुद कमाइ ५९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

नेल्सन दिलीपकुमारद्वारा निर्देशित ‘जेलर २’मा रजनीकान्त पुनः सेवानिवृत्त जेलर ‘टाइगर मुथुवेल पाण्डियन’को भूमिकामा देखिएका छन् ।

अन्डरवर्ल्ड (अपराधी जगत)बाट नयाँ चुनौती आइपरेपछि आफ्नो परिवार र विरासतको रक्षा गर्न उनी पुनः पुरानो हिंस्रक बाटोमा फर्कन बाध्य हुन्छन् । यस एक्सन थ्रिलरमा रजनीकान्तका साथै मोहनलाल र विद्या बालन पनि मुख्य भूमिकामा रहेका छन् ।