५ कार्तिक २०८३, बिहिबार

नेपाली राहदानीमा भारतीय र बंगलादेशी यसरी जान्छन् वैदेशिक रोजगारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passportकाठमाडौं, ८ असोज । खाडी मुलुक कुवेतमा बंगलादेशी नागरिकलाई रोजगारीमा जान प्रतिबन्ध छ । तर, सयौँ बंगलादेशी त्यहाँ कार्यरत छन् ।

आफूहरू नेपाली भएको भन्दै झुक्याएर उनीहरू कुवेतमा काम गर्दै आएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । नेपाली भएको भनेर ढाँट्ने मात्र होइन, उनीहरूले नेपाली पासपोर्ट नै प्रयोग गर्दै आएका छन् ।

नेपाली पासपोर्ट खरिद गरी सयौँ बंगलादेशी कुवेतलगायतका खाडी देशमा कार्यरत छन् । तीमध्ये एक हुन्– मोहम्मद वोहार ।

जो यतिवेला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । दुई वर्षअघि उनी बंगलादेशबाट कतार गएका थिए । कतारबाट कुवेत जाने क्रममा उनी मोहम्मद वोहारबाट रामकुमार साह बने ।

मानव तस्करीमा संलग्न गिरोहले नेपाली नागरिक रामकुमार साहको पासपोर्टमा उनको फोटो टाँसिदिए र उनलाई कुवेत पठाए ।

दुई वर्षसम्म कुवेत बसेर गत महिना बंगलादेश फर्कंदै थिए । कुवेतस्थित एयरपोर्टमा कुन देशबाट आएको भनेर अध्यागमनका अधिकारीले सोध्दा उनले आफू बंगलादेशबाट आएको बताए । तर, उनको हातमा नेपाली पासपोर्ट थियो ।

शंकास्पद लागेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल डिपोर्ट गरी पठाएको थियो । नेपालमा अध्यागमन विभागले अध्यागमन ऐनअनुसार उनलाई मुद्दा चलाएकोमा उनी धरौटी तिरेर छुटे ।

नेपाली पासपोर्टमा किर्ते गरेकाले विभागले थप अनुसन्धान र कारबाहीका लागि गत साता काठमाडौं परिसरमा पठाएको हो । सरकारी दस्तखत छाप किर्ते मुद्दामा उनीमाथि छानबिन भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए ।

पचरवा–६ धनुषाका रामकुमार साहको पासपोर्टमा उनले कुवेतमा दुई वर्ष काम गरेका थिए । उनीजस्ता सयौँ बंगलादेशी कुवेतमा नेपाली पासपोर्टमा काम गर्दै आएको खुलेको छ ।

अर्का एक बंगलादेशी युवती अध्यागमन विभागको हिरासतमा छिन् । मौनिती नाम गरेकी ती युवती पर्वतकी प्रविना पुन लामिछानेको पासपोर्टमा साउदी अरेबिया गएकी हुन् ।

भारतमा दलालहरूले उनलाई नेपाली बनाएर साउदी पठाएका थिए । नेपाल फर्कने क्रममा उनी बंगलादेशी भएको खुलेपछि अध्यागमनले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्यस्तै, एक भारतीय युवती शोभा तामाङलाई प्रहरीले थुनामा राखी कारबाही प्रक्रिया अघि बढाएको छ । दार्जिलिङ घर भएकी तामाङ हरिपुर–१ सर्लाहीकी सावित्री नेपालीको पासपोर्टमा साउदी अरेबिया पुगेकी थिइन् ।

साउदीमा दुई वर्ष काम गरेर फर्कने क्रममा उनी गत साता पक्राउ परेकी थिइन् । अध्यागमन विभागका अधिकारीका अनुसार यसरी नेपालीको पासपोर्ट किनेर वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ ।

कतिपयलाई फर्कने क्रममा त्यहाँको सरकारले थाहा पाएर नेपाल डिपोर्ट गर्छ भने कतिपयचाहिँ उम्कन सफल हुन्छन् । बंगलादेशी पुरुष र भारतीय महिला नेपाली पासपोर्टमा खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।