काठमाडौँ, ५ असोज । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधानको स्वागतमा नेकपा एमालेले आयोजना गरेको चियापान बहिष्कार गर्नुभएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता दशरथ रंगशालामा आयोजना गरिएको चियापानमा सहभागी भए पनि राजधानीमै रहेका डा. भट्टराई भने आउनुभएन् । चियापानमा सहभागी हुन अन्य नेताहरुझैँ निम्ता पठाए पनि डा. भट्टराई भने नआउनुभएको नेकपा एमालेका सचिव एवं कार्यालय विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
डा. भट्टराईले सोमबार राजधानीमा आयोजना गरिएको विजय सभा पनि बहिष्कार गर्नुभएको थियो । खुसीयाली साट्न आउनुको सट्टा उहाँ स्वास्थ्यको कारण देखाउँदै घरमै बस्नुभएको थियो । भट्टराई दिनभर घरमै बसेर आफू निकटका एमाओवादी नेताहरुसँग छलफल र साँझ फिल्म हेर्न जानुभएको स्रोतले बतायो ।
एमाओवादीभित्रका बौद्धिक नेता मानिएका डा. भट्टराईले सबैको सहमतिमा संविधान जारी नभएको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ । तर, भारतको ‘लाइन’ लिएको र पार्टीभित्रै पनि गुटबन्दी गरेको भन्दै एमाओवादीभित्रै उहाँको आलोचना भइरहेको छ । भट्टराईले संविधानको खुसीयालीमा दीपावली गर्नुको कुनै अर्थ नरहेको तर्क गर्दै आउनुभएको छ ।













प्रतिक्रिया