काठमाडौँ, ५ असोज । नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपालमा अनावश्यक हस्तक्षेप नगर्न कडा शब्दमा सुझाव दिनुभएको छ ।
नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेले काठमाडौँको दशरथ रंगशालामा गरेको कार्यक्रममा युवा नेता भट्टराईले विदेशीको चुनौती सामना गर्न नेपाल र नेपाली जनता तयार रहेको बताउनुभयो । नेपालमा झगडा पर्दा आफ्नै देशमा समेत असर पार्न सक्ने भन्दै भट्टराईले भारतको नाम उल्लेख नगरी भन्नुभयो– ‘छिमेकीले अर्को छिमेकीको घरमा झगडा गराउनुहुँदैन,
यदि झगडा गरायो भने त्यो छिमेकमा मात्रै सीमित हुँदैन, आफैलाई पनि असर गर्छ । आफ्नै घर पनि बिग्रन सक्छ ।’ छिमेकी चीनले नेपालको नयाँ संविधानको स्वागत गरिरहँदा भारतले पनि स्वागत गर्नुपर्ने उहाँको आशय थियो ।
सिंगो राष्ट्र एकतावद्ध भएर हस्तक्षेपको सामना गर्न तयार रहेको उहाँले बताउनुभयो । ‘भूपरिवेष्ठित देश भएका नाताले हाम्रा अन्तर्राष्ट्रिय अधिकार पनि छन् । ती अधिकार हामीले निर्विबाध उपयोग गर्न पाउनुपर्छ ।’– उहाँको तर्क थियो ।













प्रतिक्रिया