काठमाडौं, ४ असोज । भारतको विरोध गरेकै कारण प्रधानमन्त्री सुशील कोइरालाका दुई जना सल्लाहकारले एकैदिन राजनीनामा दिनुपरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधान र सामाजिक सल्लाहकार डा. विजन पन्तले सोमबार एकैदिन राजीनामा दिएका हुन् । भारतीय भूमिकाको विरोधमा पत्रिकामा लेख लेखेका कारण प्रधानमन्त्रीको दबाबमा उनीहरुले राजीनामा गर्नुपरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रधानले रिपब्लिका अंग्रेजी दैनिक र सामाजिक सललहकार डा. पन्तले नयाँ पत्रिका दैनिकमा भारतीय भूमिकाको आलोचना गर्दै लेख लेखेका थिए । सोही लेखको विषयलाई लिएर भारतको दबाबमा प्रधानमन्त्रीले राजीनामा गर्न भनेपछि उनीहरुले राजीनामा दिएको प्रधानमन्त्री निकट स्रोतले जनायो ।
यसको पुष्टि गर्दै प्रेस सल्लाहकार प्रधानले फेसबुकमा लेखेका छन् – ‘आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेश सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको छु ।’ प्रधान नागरिक दैनिकको प्रधान सम्पादकबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रेस सल्लाहकार बनेका थिए ।
विदेशमा अध्ययन गरेर नेपाल फर्किएका डा. पन्त भने प्रधानमन्त्रीको अवैतानिक सल्लाहकारका रुपमा कार्यरत थिए ।













प्रतिक्रिया