काठमाडौं, ४ असोज । नेपालमा संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले दोस्रो विज्ञप्ति जारी गरी नेपालमा आपूर्ति रोक्ने संकेत गरेको छ ।
आफ्नो सल्लाह नमानेका कारण भारतसँग सिमा जोडिएका तराईका जिल्लामा हिंसात्मक आन्दोलन नरोकिएको भन्दै भारतले भारत तथा तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म हुने ढुवानी रोक्ने संकेत गरेको हो । आइतबार संविधान जारी हुनासाथ भारतले जारी गरेको पहिलो विज्ञप्तिमा ढुवानीको विषय उल्लेख थिएन् । तर, सोमबार साँझ विज्ञप्तिमा भने तरार्इमा जारी आन्दोलनले नेपालमा आपूर्ति सेवा उपलब्ध गराइरहेका आफ्नो मुलुकका कम्पनीलाई समस्या परिरहेको र नेपाल सरकारले सुरक्षाको प्रत्याभूति नदिएको बहाना बनाइएको छ
भारतले तराईमा जारी आन्दोलन सुझाउन दबाब समेत दिएको छ । आफ्नो सल्लाहलाई मानेको भए यस्तो गम्भीर अवस्था आउने थिएन भन्दै विज्ञप्तिमा तराईको आन्दोलन साम्य पार्न नेपाली नेतृत्वलाई पटकपटक अत्याबश्यक कदम चाल्न आग्रह गरिरहेको जनाइएको छ ।
‘नेपालका सवै पक्ष सहमतिमा पुग्नुपर्नेमा हामीले होसियारीपूर्वक आग्रह गर्दै आएका थियौं, अहिले नेपालमा भइरहेको आन्दोलन राजनीतिक हो र यसलाई बल प्रयोग गरेर समाधान गर्न सकिन्न ।’- भारतीय बिदेश मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा संविधान जारी भएपछि भारतसँग सीमा जोडिएका नेपाली भूभागमा भइरहेको हिंसा र हत्याबाट गम्भिर र चिन्तित बनाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाली राजनीतिक नेतृत्वले प्रभावकारी र विश्वसनीय ढंगले तराईका समस्यालाई सम्बोधन गरी जारी द्वन्द्व अन्त्य गर्नेमा अझै पनि भारत विश्वस्त रहेको उल्लेख छ ।
संविधान जारी हुनबाट रोक्ने भारतीय मिसन असफल भएपछि भारतले आफ्ना राजदूत रञ्जित रेलाई सोमबार दिल्ली बोलाएको थियो । राजदूत रेको भारत भ्रमणपछि आएको भारतीय विदेश मन्त्रालयको धम्कीयुक्त विज्ञप्तिले नेपालमा थप राजनीतिक जटिलता आउन सक्ने संकेत देखिएको छ ।














प्रतिक्रिया