
– विवेक विश्वकर्मा
भैरहवा, ४ असोज । रुपन्देही क्षेत्र नं. ६ का संविधानसभा सदस्य एवम तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले संविधान जारी भए पनि संविधान कार्यान्वयन हुन नसक्ने दावी गरेका छन ।
भैरहवमा संविधानको प्रतिकात्मक प्रति जलाउदै शुक्लाले संविधान पारित गरि जारी पनि गरि सकेको अवश्थामा कार्यान्यवयन नहुनेमा जोड दिएका हुन । तीन नेताले मात्र सहि गरी जारी गरिएको संविधानमा मधेशी, मुस्लिम, पिछडा वर्ग, थारु, दलित, जनजाती आादिको हक अधिकार नसमेटिएको कारण नेपालमा यस्को औचित्य नभएको बताए ।
जारी भएको संविधानमा अन्तराष्ट्रिय समुदायको पनि समर्थन नरहेको शुक्लाले दावी गरे । अधिकांश जनताले असन्तुष्टि जनाई बन्दुक, कर्फ्यू र निषेद्याज्ञाको भरमा ल्याईएको संविधानमा आफ्नो समर्थन नरहेको भारत लगायतका देशले समर्थन नगरेको उनको भनाई छ ।
शुक्लाले अबको दिनमा आन्दोलन फरक शैलीबाट जाने संकेत दिएका छन । मंगलबार राजबिराजमा हुने मधेशी मोर्चामा आवद्ध पार्टी अध्यक्षहरुको बैठकले आन्दोलनको भावी रणनीति तय गर्ने उनले जानकारी दिए । मधेशीका ४ मूल मागहरु पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने उनले जनाए । संविधानमा नागरिकताको बिषय मात्र संशोधित भएर आएको र बाँकी मागहरु समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको हिसाबमा जन प्रतिनिधिको ब्यावस्था र मधेशमा दुई प्रदेश नदिए सम्म आन्दोलन नरोकिने उनले बताए ।
संविधानप्रति असन्तुष्टि राख्दै आएका बिभिन्न दल तथा समूहले अहिले भैरहवा तथा यस आसपासमा संविधानको प्रतिकात्मक प्रति जलाईरहेका छन् । भैरहवामा नेकपा–माओवादी, हिन्दु राष्ट्र बचाउ अभियान, मधेशी दल लगायतले संविधान जलाई रहेका छन् । भैरहवा बाहिर बनगाई, पर्सा, धकधई, बैकुण्ठपुर लगायतका स्थानमा समेत संविधानको प्रति जलाईएको छ । आगामी दिनमा पनि कार्यक्रमहरुलाई निरन्तरता दिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले बताए ।















प्रतिक्रिया