
काठमाडौं, ४ असोज । नेकपा एमालेले नयाँ संविधान घोषणा भएपछि असन्तुष्ट पक्षलाई लोकतान्त्रिक प्रक्रियामा फर्कन विशेष आव्हान गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै एमालेले विशेषगरी तराई मधेसमा आन्दोलन गरिरहेका थारु र मधेसीहरुलाई वार्तामा बोलाएको हो । ‘लोकतान्त्रिक विधिमा विश्वास गरेपछि निर्णयमा सहमत वा असहमत हुन पाउने सबैलाई अधिकार छ । तर विरोधका नाममा हुने अराजकता र हिंसालाई अब नेपाली समाजले स्वीकार गर्दैन,’ विज्ञप्तीमा भनिएको छ–‘हामी असहमत पक्षलाई समेत लोकतान्त्रिक प्रक्रियामा फर्कन र राष्ट्रिय एकताको पक्षमा उभिन आव्हान गर्दछौं ।’
एमाले सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तीमा विगतका राजनीतिक क्रान्ति, सामुदायिक तथा पेसागत आन्दोलनको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई वैधानिक रुपले संस्थागत गर्ने दस्तावेजका रुपमा यो संविधान जारी भएको उल्लेख छ । ‘नेपालका शोषित, उत्पीडित जनताले आधा शताब्दीभन्दा लामो संघर्ष र बलिदानबाट यो संविधान प्राप्त गरेका छन् । असोज ३ गते नेपालको इतिहासमा सुवर्ण अक्षरले अंकित हुनेछ ।’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै, संविधान घोषणा भएको खुशियालीमा एमालेले मंगलबार काठमाडौंको दशरथ रंगशालामा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन पनि सबैलाई आग्रह गरेको छ । असन्तुष्ट पक्षलाई पनि चियापानमा सहभागी भएर सदभाव बाँड्न आग्रह गरिएको छ ।
यस्तो छ एमालेको आव्हानः
प्रेस विज्ञप्ती
सार्वभौम संविधानसभाद्वारा नेपालको संविधान घोषणा भएकोमा हामीलाई अत्यन्तै खुशी लागेको छ । विगतका राजनीतिक क्रान्ति, सामुदायिक तथा पेसागत आन्दोलनको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई वैधानिक रुपले संस्थागत गर्ने दस्तावेजका रुपमा यो संविधान जारी भएको छ । नेपालका शोषित, उत्पीडित जनताले आधा शताब्दीभन्दा लामो संघर्ष र बलिदानबाट यो संविधान प्राप्त गरेका छन् । असोज ३ गते नेपालको इतिहासमा सुवर्ण अक्षरले अंकित हुनेछ ।
नेपाली समाज बहुलवादी र खुला समाज हो । विचारको विविधतालाई संविधानले नै स्वीकार गरेको छ । लोकतान्त्रिक विधिमा विश्वास गरेपछि निर्णयमा सहमत वा असहमत हुन पाउने सबैलाई अधिकार छ । तर विरोधका नाममा हुने अराजकता र हिंसालाई अब नेपाली समाजले स्वीकार गर्दैन । हामी असहमत पक्षलाई समेत लोकतान्त्रिक प्रक्रियामा फर्कन र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गर्दछौं ।
संविधान घोषणा भएको खुशियालीमा यही असोज ५ गते अपरान्ह १ः०० बजेदेखि ५ः०० बजेसम्म काठमाडौंको दशरथ रंगशालामा हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले चियापान कार्यक्रम आयोजना गर्नुभएको सबैमा विदितै छ, पार्टीका तर्फबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, वित्तीय क्षेत्रका व्यक्तित्व, उद्योग व्यवसायीहरु, पेसाकर्मी, टे«ड युनियनकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थाका व्यक्तित्व, मानवअधिकारकर्मी, कानुन व्यवसायी, डाक्टर, इन्जिनीयर, स्वास्थ्यकर्मी, पूर्व प्रशासक, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि, युवा–विद्यार्थी, खेलाडीहरु, लेखक, कलाकार, विभिन्न राजनीतिक दलका पदाधिकारी तथा सदस्य, शिक्षक तथा प्राध्यापक, पूर्व राजदूत, नागरिक समाजका अगुवालगायत नेपाली समाजका विभिन्न वर्ग तथा समुदायलाई निमन्त्रणा पठाइएको छ । बीचमा केही दिन सार्वजनिक विदा परेकाले निमन्त्रणा कार्डहरु निश्चित टुंगोमा नपुगेको भए तापनि पार्टीको चियापान कार्यक्रममा सार्वजनिक आह्वान समेतलाई औपचारिक निमन्त्रणाका रूपमा स्वीकार गरी सबैको सहभागिता हुनेछ भन्ने अपेक्षा गर्दछौं ।
योगेश भट्टराई
प्रमुख
केन्द्रीय प्रचार विभाग












प्रतिक्रिया