– प्रकाशचन्द्र भट्टराई
तनहुँ, ३ असोज । नयाँ संविधानको विरोध गर्दै नेपाल बन्दको आव्हान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आईतबार विहानै तनहुँमा ट्रक जलाएका छन् ।
बन्दकर्ताले आइतबार बिहान साढे ५ बजे घाँसिकुवा गाविस-५ स्थित पृथ्वीराजमार्गमा पोखराबाट नारयणगढतर्फ जाँदै गरेको ना १ क ३३६० नम्बरको ट्रक जलाएका हुन् । १०/१२ जनाको समूहमा आएका युवाहरुले आफूलाई धम्क्याएर ट्रक जलाएको ट्रकका चालक ढालबहादुर आलेले बताए । उनीहरुले ‘ज्यानको माया छ भनी ट्रकबाट झर’ भनेर थर्काएको र आफू ट्रकबाट ओर्लेपछि पेट्रोल छर्केर आगजनी गरेको आलेले बताए । आगलागीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । होण्डा मोटरसाइकल पोखरा पु¥याएर फर्किदै गर्दा ट्रकमा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी मोहनकुमार आचार्यले बन्दकर्ताहरुको खोजी भईरहेको बताए । यता बन्द आह्वान गरेको नेकपा माओवादी तनहुँका सचिव निरु थापाले भने आफूहरुले आगजनी नगरेको बताए । उनले संविधानको विरोधमा आह्वान गरिएको बन्द शान्तिपुर्ण हुने भन्दै आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता नभएको बताए ।
यसैबीच नेकपा माओवादीले आह्वान गरेको बन्दको कारण आईतबार तनहुँको जनजीवन प्रभावित भएको छ । बन्दले पृथ्वीराजमार्गमा सार्वजानीक र नीजि यातयात सञ्चालन भएका छैनन भने पसल, कलकारखाना पनि बन्द भएको छ । नयाँ संविधान जारी हुने अवसरमा सरकारले सार्वजानिक बिदा दिएको कारण विद्यालय भने सञ्चालन भएको छैन ।













प्रतिक्रिया