५ कार्तिक २०८३, बिहिबार

आफ्नै मन्त्रीलाई कांग्रेसका सांसदले यसरी पाठ सिकाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NARAHARI_ACHARYAकाठमाडौं, ३ असोज । सरकारले संसदमा अघि सार्ने हरेक विधेयक पारित गराउनु सत्तारुढ दलको पहिलो प्राथमिकता हो ।

तर, चालू अधिवेशनअन्तर्गत संसद्को शनिबार बसेको अन्तिम बैठकमा कांग्रेस सभासद्हरूले सरकारको प्रस्तावको विपक्षमा मतदान गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले पेस गरेको प्रस्तावमा कांग्रेसकै सभासद्ले विपक्षमा मतदान गरेका हुन् ।

मन्त्री आचार्यले भूकम्प प्रभावित संरचनाको पुनर्निमार्णसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

विपक्षी एमाओवादी र एमालेका सभासद्हरूले भने प्रस्तावको समर्थन गरेका थिए ।

कांग्रेसका झन्डै एक दर्जन सभासद्को विरोधका बाबजुद विधेयक संसद्को सुशासन तथा अनुगमन समितिमा गएको छ ।

कांग्रेस सभासद् रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी, नवीन्द्रराज जोशीलगायतले आफ्नै पार्टीका मन्त्रीले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई राष्ट्रसंघमा जान हतार भयो भन्दैमा जे पनि गर्न पाइँदैन,’ सभासद् खतिवडाले भने, ‘भूकम्प प्रभावित जिल्लामा जनताको बेहाल छ ।

छिटो प्राधिकरण गठन गरेर राहत दिनुपर्ने बेला प्रक्रिया लम्ब्याउन सरकारले विधेयक समितिमा पठाएकाले हामीले त्यसको विरोध गरेका हौं ।’

अर्का सभासद् बस्नेतले पनि सरकारको यो कदमप्रति आक्रोश व्यक्त गरे । ‘हामीलाई आजै विधेयक पारित गर्ने हो भनिएको थियो,’ उनले भने, ‘तर बैठकमा आउँदा समितिमा पठाउने प्रस्ताव आएपछि हामीले बैठक लम्ब्याएर भए पनि पास गर्नुपर्छ भनेका हौं ।’