२१ कार्तिक २०८३, शनिबार

तीन दलद्वारा वार्ताका लागि पुनः आह्वान, मधेसमा आन्दोलन गर्नुको तुक छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Three Party Leaders In Baluwatar 3काठमाडौं, २ असोज । नेपालको संविधान २०७२ लागू हुन एकदिन पूर्व कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूले आन्दोलनरत समूह र दलहरूलाई वार्तामा आउन आग्रह गर्दै सहमतिमा आउन आह्वान गरेका छन् ।

बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्ट पक्षलाई वार्तामा आउन पुनः आग्रह गरेका हुन् । उनीहरूले वार्ता र सम्वादका लागि अझै पनि समय रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले नयाँ संविधानको स्वागत गर्न गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले भोलि जारी हुने संविधानलाई स्वागत गरी उत्सवमा सहभागी हुन मधेस केन्द्रित दलका नेताहरूलाई आग्रह गर्नुभयो । ‘यो बिरलै आउने अवसर हो । हामीले अहिले तराई मधेसका नेताहरूलाई आह्वान गरेका छौं, बसौं । एक ढिक्का भएर यो उत्सवमा सामेल हौँ’, उहाँले भन्नुभयो ।

सहमतिका लागि अझै पनि समय रहेको प्रधानमन्त्री कोइरालाको भनाइ थियो । प्रधानमन्त्री कोइरालाले एउटा प्रक्रिया अन्त्य भए पनि आयोगमा बसेर नमिलेका कुरा छलफल गरेर मिलान गर्न सकिने उल्लेख गर्नुभयो ।

एमालेका अध्यक्ष केपी ओलीले प्रदेशको सिमाङ्कनका विषयमा प्रमुख दलहरू खुल्ला रहेको बताउनुभयो । उहाँले असन्तुष्ट दलहरूलाई वार्ता र सहमतिमा आउन आग्रह गरेका छन् ।

‘आवश्यक संख्याभन्दा निकै बढी संख्याले पारित भएको छ’, उहाँले भन्नुभयो, ‘भोलि घोषणा हुन्छ ।’ उहाँले संघीयताको यहाँनेर सीमा मिलेन भन्ने कुरा ठूलो नभएको भन्दै भोलिका दिनमा पनि मिलाउन सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले पाँच प्रतिशतले भनेको ९५ प्रतिशतले मान्नै पर्ने बाध्यता नरहेको बताउनुभयो । ‘४/५ प्रतिशतले भनेको ९५ प्रतिशतले मान्नैपर्ने बाध्यता हुँदैन’, उहाँले भन्नुभयो, ‘हामीले समझदारी र सम्वाद गर्दै अघि बढ्ने कुरा गरेका छौं ।’

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसमा आन्दोलन गरिरहनुको औचित्य सकिएको बताउनुभएको छ । उहाँले आन्दोलनरत दलहरुलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।

‘मधेसमा आन्दोलन गरिराख्नु पर्ने आधार छैन, मधेस केन्द्रित साथीहरू वार्तामा आउनुस्’, दाहालले भन्नुभयो, ‘तपाईहरूसँग बसेर नै छलफल गर्न चाहन्छौं भनेपछि भएन भन्नु तर्कसँगत छैन ।’

संविधान घोषणा भइसकेपछि आफूहरू मधेस जाने बताउँदै दाहालले भन्नुभयो, ‘म सिराहा जान्छु, त्यहाँ जनताले मलाई स्वागत गर्छन् ।’

1 2 3