२१ कार्तिक २०८३, शनिबार

हस्ताक्षर गर्न मन भए आउनुस् : अध्यक्ष नेम्वाङ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । संविधानका विवादित विषयमा असन्तुष्टि जनाउँदै संविधान निर्माणको प्रक्रिया बहिष्कार गरेका राजनीतिक दलहरूलाई आइतबार संविधान जारी हुनुपूर्व संविधानमा हस्ताक्षर गर्न संविधानसभा अध्यक्षले आग्रह गरेका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायतक विभिन्न मधेसकेन्द्रित दलका ५८ सभासदहरूले प्रक्रिया बहिष्कार गरी नयाँ संविधानको विरोध गरिरहेकै बेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार यस्तो आग्रह गरेका हुन् ।

‘सबै राजनीतिक दल र तिनका सभासदहरूको यति धेरै मेहनत र परिश्रमको परिणाम स्वरुप निर्माण भएको संविधानमा आफ्ना ९० प्रतिशत विषय समावेश भएर मात्रै १० प्रतिशतमा मुद्दा सम्बोधन भएन भनि पूरै उपलब्धि बहिष्कार नगरौं’, नेम्वाङले पत्रकारसँग भने ।

तराई, पहाड र हिमालसम्मका सबै जनताको चाहना र विगतमा आन्दोलन तथा परिवर्तनका पक्षधर दलहरूकै परिश्रमको परिणाममा उपलब्ध संविधानमा हस्ताक्षर गरी प्राप्त उपलब्धि ग्रहण र बाँकी उपलब्धिका लागि निरन्तर अघि बढ्नु नै सबैभन्दा बुद्धिमानि कुरा भएको पनि उनले बताए ।

केही मधेसवादी दलका सभासदहरूले बहिष्कार गरेको प्रति लक्षित गर्दै नेम्वाङले भने, ‘आफ्नै परिश्रम र संघर्षको परिणाम आत्मसाथ गरी त्यसैको जगमा बाँकी विषयहरूपनि मिलाएर प्राप्त गर्न सकिन्छ । ९० प्रतिशत काम आफैले मेहनत गरी पूरा गरेर १० प्रतिशत कुरा मिलेन भनि अन्तिममा पूरै उपलब्धि अस्वीकार नगरौँ ।’

नेम्वाङले संविधानसभाद्वारा पारित संविधानमा औपचारिक रुपमा सभासदहरूलका लागि हस्ताक्षर गर्न शुक्रबार अपरान्ह ३ बजेसम्मका लागि समय तय गरिएको भएपनि त्यसमा हस्ताक्षर गर्न चाहने र छुटेका सभासदहरूले आइतबार अपरान्ह राष्ट्रपतिले जारी गर्नुअघिसम्म हस्ताक्षर गर्न सक्ने बताए ।

संविधान निर्माणको वातावरण तयार पार्ने मुख्य आधार जेठ २५ गतेको १६ बुँदे सहमतिका योजनाकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको दलले शुक्रबारै हस्ताक्षर गर्ने भनिएपनि दलहरूबीचको वार्ता असफल भएपछि विफल भएको थियो ।