२१ कार्तिक २०८३, शनिबार

नेपालबाट कसले गर्‍यो भारतलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra_Modiकाठमाडौं, २ असोज । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे भारतलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको आफूले पाएको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीको विशेष दूतका रुपमा दिल्ली पुगेर फर्केका सचिव ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतीयहरुमा ठूलो भ्रम देखिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘यता(नेपाल)बाट उनीहरुलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ नै गरिएको रहेछ, मधेसमा ६० हजार सेना परिचालन गरिएको र कैलालीमा सयजनाको हत्या गरेर लास लुकाइएको जस्ता प्रश्नहरु भारतीय पक्षबाट उठ्यो ।’

त्यसैगरी मधेसी समुदायलाई वार्तामा ल्याउन नचाहेको र भारतीय पक्षले दिएको सुझावलाई समेत बेवास्ता गरिएको भन्नेजस्ता प्रश्नहरु पनि भारतीय पक्षले राखेको उहाँले बताउनुभयो । ‘भारतीयहरुमा हाम्रैतिरबाट भ्रम छर्न खोजेको जस्तो पाइयो ।’

pradeep-gyawaliआफूहरुले मधेसी र थारु लगायतका समुहलाई वार्तामा ल्याउन पटक-पटक प्रयास गरेको, प्रधानमन्त्रीले पत्र लेखेको, सेना परिचालन नभई दंगाग्रस्त क्षेत्रमात्रै घोषणा गरिएको र कैलालीमा आन्दालनेकारीभन्दा प्रहरीको धेरै संख्यामा हताहती भएको जस्ता कुराहरु आफूले भारतीयलाई स्पष्ट पारेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले मधेसकै नेता, बुद्धिजिवी र अगुवाहरुले विभिन्न समयमा सन्देश पठाएर भारतीय पक्षलाई गलत सूचना दिएर उक्साउन खोजेको कुरा पनि दिल्लीबाट पत्ता लागेको बताउनुभयो । उहाँले भन्नुभयो-‘मधेसका केही नेता, बुद्धिजिवी, लेखकहरुले भारतीय पक्षलाई विभिन्न माध्यमबाट नेपालविरुद्ध उक्साउन गलत सूचना दिएर ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको पाइयो, त्यसमा भारतीय पक्षलाई सचेत हुन र नेपालको वर्तमान अवस्था बारे स्पष्ट हुन समेत आग्रह गरे ।’

भारत भ्रमणमा रहँदा सचिव ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार, प्रधानमन्त्री कार्यालयका मुख्यसचिव, राष्ट्रिय स्वयंसेवक संघका प्रमुख र सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो । यसका अतिरिक्त अन्य नेता र उच्चपदस्थ सरकारी अधिकारीहरुसँग पनि कुराकानी गर्नुभएको थियो ।