काठमाडौं, १ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेससचिव सुव्रमन्यम जयशंकर शुक्रबार काठमाडौं आउँदै छन् ।
नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे चासो राख्दै उनी नेपाल आउन लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तराई–मधेसकेन्द्रित दलहरूको मुद्दा सम्बोधन गरेर अघि बढ्न दिएको सुझाब सम्बोधन नगरी प्रमुख तीन दलको निर्णयमा संविधान पारित भएपछि भारत असन्तुष्ट छ ।
यीलगायतका विषयमा छलफल गर्न शुक्रबार बिहान साढे ९ बजे विदेससचिव जयशंकर सहयोगीसहित काठमाडौं आउन लागेका हुन् ।
चीनको पहिलो समर्थन छिमेकी मुलुक चीनले संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा औपचारिक रूपमा खुसी व्यक्त गरेको छ ।
संविधान पारित भएपछि प्रतिक्रिया दिने चीन पहिलो हो । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नेपालमा नयाँ संविधान पारित भएकोमा खुसी व्यक्त गरेका छन् ।
‘मित्रवत् छिमेकीका रूपमा चिनियाँ पक्ष नेपालको संविधानसभाबाट नयाँ संविधान पारित भएको देख्न पाउँदा खुसी छ,’ लीले भनेका छन्, ‘हामी नेपालको सामाजिक प्रणाली र विकासपथका बारेमा नेपालको स्वतन्त्र छनोटको समर्थन र सम्मान गर्छौँ र नेपालमा राजनीतिक स्थिरता तथा आर्थिक विकासका लागि कामना पनि गर्छौँ ।’
नेपालका लागि चिनियाँ राजदूत उ चुन्थाईले बिहीबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चीनको सन्देश पढेर सुनाएका थिए ।















प्रतिक्रिया