२१ कार्तिक २०८३, शनिबार

एमालेले खुसीयाली बाँड्न दशरथ रंगशालामा वृहत चियापान राख्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml
फाइल फोटो

काठमाडौं, ३१ भदौ । दोस्रो ठूलो सत्तारुढ दल नेकपा (एमाले) नेपालको संविधान २०७२ जारी भएको ऐतिहाँसिक अवसरमा असोज ५ गते काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको आज पार्टी मुख्यालय धुम्बाराही महाराजगञ्जमा बसेको बैठकले नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक अवसरमा आगामी असोज ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पार्टीका तर्फबाट चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिअनुसार कार्यक्रम अपरान्ह १ बजेदेखि ५ बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ता, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरू, कलाकार, पत्रकार, कानुनी व्यवसायी, शिक्षक, प्राध्यापक, उद्यमी व्यवसायी, श्रमिक पेशाकर्मी, खेलाडी, निजामती तथा जंगी सेवाका अधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका अगुवालगायत उपत्यकाबासी जनसमुदायहरूलाई निमन्त्रणा गरिएको छ ।

पार्टी अध्यक्ष केपी ओलीका तर्फबाट आमन्त्रित पाहुनाहरूलाई निमन्त्रणा–पत्र पे्रषित गरिएको विज्ञप्तिमा उल्लेख छ । चियापान कार्यक्रमलाई व्यवस्थित गर्न पार्टी सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजकत्वमा आर्थिक विभाग प्रमुख विष्णु रिमाल र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहनुभएको तीन सदस्यीय व्यवस्थापन कमिटी गठन गरिएको छ ।

संविधान जारी हुने दिन आगामी असोज ३ गते एमालेले देश–विदेशमा साँझ दीपावली गर्न निर्देशन जारी गरिसकेको छ । असोज ४ गते संविधानको स्वागतमा उत्सव मनाउन स्थानीय विशिष्टताअनुरुपका रचनात्मक कार्यक्रमहरू आयोजना गर्न सबै कमिटी र संगठनहरूलाई आह्वान गरिएको एमालेले जनाएको छ ।