वीरगन्ज, २९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्सा र बाराका कार्यकर्ताले आज वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत लिपनीमालस्थित सौरभ इन्टरप्राइजेजको गोदाममा तोडफोड गरेका छन् ।
सयौँको सङ्ख्यामा आएका उनीहरुले बाराको लिपनीमाल गाविस–९ चैनपुरस्थित वीरगन्ज पथलैया सडकखण्डमा पर्ने इन्टरप्राइजेजको गोदामको मूलढोका खोल्न लगाई तोडफोड गरेका हुन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले गोदामका चौकीदारलाई नियन्त्रणमा लिई गोदाम परिसरमा पार्किङ गरी राखिएको आधा दर्जनभन्दा बढी ट्रकमा तोडफोड गरी आगजनीसमेत गरेको गोदामका व्यवस्थापक विनोद गुप्ताले बताउनुभयो ।
घटनास्थलमा तत्काल पुगेका सुरक्षाकर्मी र वीरगन्ज उपमहानगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यस्तै मोर्चाका कार्यकर्ताले निम्बस गु्रपको भुस लादिएको ना ५ ख ७३५ नंको ट्रक तथा दाल लादिई पार्किङमा राखिएको ना २ ख ९७४६ नंको ट्रकमा समेत तोडफोड गरेका छन् ।
घटनापछि वीरगन्ज परवानीपुर सडकखण्डको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्दीय सदस्य नवलकिशोर सिंहलाई प्रहरीले नितनपुरबाट पक्राउ गरी नियन्त्रणमा लिएको सिमरा बाराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
यसैगरी निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा वीरगन्जको घण्टाघरबाट आज पाँच महिलालाई प्रहरीले पक्राउ गरेको छ । मुखमा कालोपट्टी बाँधेर नाराजुलुसमा उत्रिएका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस















प्रतिक्रिया