१० कार्तिक २०८३, मंगलबार

साउदी अरेबियामा रहेका नेपालीलाई सतर्क रहन अपिल, आवश्यक बाहेक बाहिर ननिस्कन आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । साउदी अरेबियामा पछिल्लो समय सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

राजदूतावासले एक सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन र आवश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली समुदायलाई अनुरोध गरेको हो।

दूतावासका अनुसार सुरक्षा सतर्कतासम्बन्धी आधिकारिक सूचना जारी भएका स्थान तथा समयमा त्यसलाई गम्भीरतापूर्वक पालना गर्नुपर्नेछ। साउदीका सम्बन्धित सरकारी निकायले जारी गर्ने निर्देशनलाई आधार मानेर मात्र गतिविधि गर्न पनि नेपाली नागरिकलाई आग्रह गरिएको छ।

त्यसैगरी, सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना, फोटो तथा भिडियोको पछि नलाग्न दूतावासले सचेत गराएको छ। आधिकारिक पुष्टि नभएका सामग्री अरूलाई पठाउने, सामाजिक सञ्जालमा राख्ने वा सेयर गर्ने कार्य नगर्नसमेत अनुरोध गरिएको छ।

साउदीबाट नेपाल वा अन्य मुलुकतर्फ हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीले आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक माध्यमबाट जानकारी लिएपछि मात्रै विमानस्थलतर्फ जान दूतावासले सुझाव दिएको छ। सुरक्षा अवस्थाका कारण उडान तालिकामा परिवर्तन हुनसक्ने भएकाले यात्रा अघि विवरण यकिन गर्न भनिएको हो।

आपत्कालीन अवस्था वा कुनै समस्या उत्पन्न भएमा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नेछन्।

राजदूतावासले आवश्यक परे सम्पर्क गर्न फोन, मोबाइल तथा इमेलमार्फत उपलब्ध हुने व्यवस्था रहेको जनाएको छ।

साउदी अरेबियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष नेपालबाट समेत ठूलो संख्यामा नेपाली साउदी जाने गरेका छन्। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै दूतावासले त्यहाँ रहेका नेपालीलाई थप सजग रहन आग्रह गरेको हो।